बैतडीका ८४ वटै वडामा गठबन्धनले शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने
गठबन्धन दलहरुले तिहारको उपलक्ष्यमा बैतडीका ८४ वटै वडामा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएका छन् ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत ध्यानमा राखेर आइतबार गठबन्धन दलहरुले चियापान तथा शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज विक्रम कुँवरले जानकारी दिए ।
जिल्लाका ८४ वटै वडामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिने कुँवरले बताए । गठबन्धनमा सहभागी दलका स्थानीय कमिटीहरुले कार्यक्रमको आयोजना गर्ने उनले बताए ।
चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा गठबन्धन दलका तर्फबाट उम्मेदवारहरुलाई जिताउनका लागि आग्रह गरिने समेत कुँवरले बताए ।
प्रत्येक वडामा चियापान तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय भएकाले सबै वडामा त्यसको तयारी समेत भएको नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर ९ख०का क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए ।
चुनावी प्रचारप्रसारकै अभियानमा रहेका बेला तिहारको उपलक्ष्यमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए ।
बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन गरेर चुनावी मैदानमा होमिएका छन् ।
५ कात्तिक २०७९, शनिवार २२:३७ बजे प्रकाशित































