समानुपातिकको बन्दसूचीमा परेका उम्मेदवारको जरिवाना बुझाउने समय सकिँदै
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा परेका व्यक्तिले तोकिएको जरिवाना बुझाउने समय सीमा सकिँदैछ । गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर निर्वाचन खर्च नबुझाएका तर, आगामी निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा परेका ४०८ जनाले जरिवाना बुझाउने समय सकिन लागेको हो ।
समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा परेका व्यक्तिमाथि परेको उजुरीमा छानबिन गर्ने समयसीमा शनिबारसम्म तोकिएकाले सोही दिनसम्म तोकिएको जरिवाना बुझाउने समयसीमा कायम रहेको निर्वाचन आयोगले जनाएको छ । ५ गते शनिबार भए तोकिएको जरिवाना बुझाउने कार्य भने देशभरका निर्वाचन कार्यालयमा जारी रहने समानुपातिकतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्तासमेत रहेका उपन्याधिक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
उनका अनुसार जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारको हकमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगबाट यस अघि नै भइसकेको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई आयोगले गत भदौ ३१ गते निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिवाना तिराउने निर्णय गरेको थियो ।
यसरी जरिवाना तोकिएका ४०८ जनाको नाम आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएको छ ।
४ कात्तिक २०७९, शुक्रवार २०:५७ बजे प्रकाशित































