विज्ञप्ति अनुसार कारवाही पर्नेमा कैलाली–१ प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेदवार सन्तोष कठरिया र प्रदेश (ख) का उम्मेदवार गणेश चौधरी रहेका छन्। कठरिया नागरिक उन्मुक्ति पार्टीका कर्णाली प्रदेस सह–संयोजक हुन् भने चौधरी स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट वडा नं. १ का वडाध्यक्षका उम्मेदवार लक्ष्मण चौधरीका छोरा हुन्।
अध्यक्ष श्रेष्ठद्धारा जारी विज्ञप्तिमा ‘नागरिक उन्मुक्ति पार्टीकोविरुद्ध गतिविधि गरेको देखिएकोले पार्टीको विधान २०७८, भाग २ धारा ९ को (घ) बमोजिम निज सन्तोष कठरिया र गणेश चौधरीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको व्यहोरा सबैलाई जानकारी गराइन्छ’ भनिएको छ।
कठरिया जोशीपुर गाउँपालिका वडा नं. ३ लक्कड र चौधरी टीकापुर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दा हुन्। कठरियाले पार्टीको संगठन विस्तारका साथै स्थानीय निर्वाचनमा जोशीपुर गाउँपालिकामा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। कठरियाले पार्टीमा पछिल्लो समय बढ्दै गएको विकृति, अस्वस्थ प्रतिस्पर्धाका कारण पार्टी परित्याग गर्दै स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेको सामाजिक सन्जालमा उल्लेख गरेका छन्।
































