punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बडा दसैं सुरु, आज घटस्थापना

Chaupati
safha napa

नेपालीहरूको महान् चाड विजया दशमी अर्थात् बडा दसैं सोमबार सुरु भएको छ। यो पर्व १५ दिन धूमधामका साथ मनाइन्छ। पहिलो दिन घरका पूजाकोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजाकोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

बिहानै नित्य कर्म सकेर नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले पूजाकोठा वा दसैंघर लिपपोत गरिन्छ। त्यसमाथि यव अर्थात् जौ रोपिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अंकुुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाउने चलन छ।

जमरामा जौबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन्। कुल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ। जमराको जुस विभिन्न रोगमा औषधीका रूपमा सेवन गर्ने गरिएको छ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यहीमाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले यसको दिनलाई घटस्थापना भन्ने गरिएको हो। यस दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।

घटस्थापनाको साइत बिहान १०ः२३ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समिति अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए। उनका अनुसार सूर्योदयकालमा प्रतिपदा भएका दिन घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले यस दिनलाई घटस्थापना भनी निर्णय गरेको हो।

विजयादशमीको साइत असोज १९ गते ११ : ५१ बजे विधिपूर्वक घर–घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ।

असोज १९ गते देवी विसर्जनको साइत बिहान १०ः३४ बजे रहेको समितिले जनाएको छ। टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ः५१ बजेको साइत उत्तम छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ।

घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ। यस वर्ष असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।


१० असोज २०७९, सोमवार ०८:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु