यादहरुको नेपथ्यमा कोही सधैं बांचिरहदारहेछन् !
फुलको थुंगा बहेर गयो गंगाको पानीमा !
कहिले भेट होला हे राजै यो जिन्दगानीमा !!
तारा देवीले गाएको यो गीत सुन्दा धेरैलाई आफ्ना प्रियजनहरुसंग छुटाएर टाढा पु¥याइएको पिडालाई सम्झाउँछ होला आफ्नै पिडा पोखेको झै भान हुन्छ होला यि शब्दहरुमा ।
मलाई पनि यो गीतले मेरो जीवनका निक्कै प्रिय चार जना व्यक्तीसँगको बिछोडलाई स्मरण गराउँछ । जीवनको कुनै कालखण्डमा मलाई असाध्य माया गर्ने यीं चारैजनासँग म उहाँहरुको जीवनको अन्तिम घडीमा साथ हुन सकिनँ । जुन कुराले मलाई जिवनभरि पिरोली रहनेछ ।
उहाँहरु चार जनामध्ये मेरो रगतको नाता त एकजनासँग मात्र थियो– जो मेरो हजुरआमा हुनुहुन्छ । जसको काखमा र साथमा मेरो बालापन बित्यो । त्यसकारण पनि उँहा मेरो जीवनको र स्वासको सुगन्धमा हुनुहुन्छ । भनिन्छ साँवाको भन्दा ब्याजको माया बढी हुन्छ रे । सायद त्यही भएर होला हजुरआमाको माया मैले धेरै नै पाएको थिएँ ।
हजुरआमाका अरु पनि नातीनातीना थिए तर सबैभन्दा नजिक र प्रिय म नै थिएँ । मान्छे जन्मजातै स्वार्थी हुदाँेरहेछ यो कुरा मलाई आजकल महसुुस हुन्छ । यदि कसैले यो कुरा नकार्छ भने उ झुट बोलीरहेको छ । म पछाडि फर्केर हेर्ने गर्छु त्यो बचपनमा पनि मलाई हजुरआमाको एटेन्सन अलि बढी अरुलाई भएको मनै पर्थेन ।
हामी आफुलाई माया गर्नेहरुलाई र आफुले माया गर्नेहरुलाई गुमाउन डराउँछौं तर पनि कुनै न कुनै क्षण कि हामी हराउँदा रहेछौं । समयले हामीलाई आफ्ना प्रियहरुबाट टाढा बनाउँदो नै रहेछ । सायद त्यसैले भनिएको होला समय भन्दा ठूलो योजनाकार अर्को छैन भनेर । म कहिलेकाहीँ यसरी नै चित्त बुझाउने गर्दछु ।
हजुरआमासँग टाढिएपछि मेरो भेट करिब ६ वर्षपछि एकपटक मात्र भयो । उहां बित्नुभन्दा चारपाँच महिना अगाडि, मलाई आज पनि याद छ त्यो अन्तिम भेट उहाँले राम्रोसँग मान्छे चिन्न छोडिसक्नु भएको रहेछ ।
सेतै भएर पाकेको कपाल, हरियो र सफा धोतीले, गोरो अनुहारमा परेका उमेरका रेखाहरु आठ दशक पार गरिसक्नु भएकी मेरी हजुरआमाको मुहारमा अचम्मको कान्ति थियो । त्यही भेटमा हो उहाँलाइ अन्तिम पटक स्पर्श गरेका मेरा यि हातहरुले, कहिलेकाहीँ त्यही हातका हत्केलालाई हेर्छु र उहाँको सुगन्ध र उपस्थितिलाई महसुुुस गर्दछु ।
अरु तिन जनासँग मेरो रगतको नाता त थिएन तर रगतकै भन्दा कम पनि थिएन, अझ माथि नै थियो । यो सम्बन्धमा पहिलो हुनुहुन्थ्यो मेरो नरेन्द्र दाजु । मेरो विहे भएर म र मेरो श्रीमान् कंचनपुरमा बस्दा एक महिना उहाँकै घरमा बसेका थियौं । उहाँ मेरो श्रीमानको भिनाजु पर्नुहुन्थ्यो । त्यो एक महिनामा उहाँबाट पाएको माया मेरो जीवनमा करोडौ कस्तुरीको सुगन्ध जत्तिकै सुगन्धित भएर रहिरहने छ ।
मेरा दाइभाइहरु छन् तर उनीहरुसँग भएको मेरो रगतको नाताभन्दा कयौं गुना माथि छ मेरा लागि नरेन्द्र दाजुको माया । ससाना चाडवाडमा पनि मलाई सम्झिने मेरो दाजुको जीवनलाइ निक्कै चाडैं मृत्युले आफ्नो बसमा पा¥र्यो ।
अर्को मेरी आमा बिष्णादेवी पाल्पाली । उहाँसँग पनि मेरो रगतको नाता थिएन यो नाता सम्बन्ध मलाई निर्मला दिदीले उपहारमा दिनु भएको हो । उहाँ आमा निर्मला बागचन्द दिदीको आमा हुनुहुन्थ्यो । दिदीबाट मैले उपहारमा माइती पाएको थिएँ । आमा बुवा, दाइभाइ भदाभदै सहितको माइती घर । आमाका आफ्ना छ सातजना सन्तानहरु थिए ।
त्यसका बाबजुद पनि मैले पाएको माया कुनै आमाले आफैले जन्माएको सन्तानलाई भन्दा कत्ति कम थिएन । म सोच्ने गर्छु मैले आफैले आफ्नो माइत छोडेर हिंडेको थिएँ । म सुदूर पूर्वमा जन्मेको मान्छेले सुदूरपश्चिममा यति धेरै माया गर्ने आमा पाएँ ।
जसको म आजीवन ऋणी रहने छु । केही त छ होला यो आमा भन्ने शब्दमा जसभित्र ममता नै ममता भरिएर रहेको हुँदोरहेछ । म सोच्ने गर्दछु यो जाली संसारमा यति निस्वार्थ माया गर्ने पनि हुन्छन् । आमाको त्यो माया मेरो मन मस्तिष्कमा मेरो सास चल्दा सम्म रहिरहने छ ।
र अन्तिममा मेरो आदरणीय गुरु गणेश नेपालीको आमा हुनुहुन्छ । मेरो घरको सामुन्ने तेस्रो घर उहाँको हो । मेरो बिहे भएको बिस वर्ष भयो । जीवनका यि दुइ दशक म उहाँको निक्कै समीप थिएँ । मान्छे हिड्दाहिड्दै बोल्दा बोल्दै कति बेला हामीबाट कहिल्यै नफर्किने गरि टाढा भैसक्दो रहेछ हामीले चालै नपाउँदा रहेछौं ।
मैले कहिल्यै सोचेको थिइनँ कि यत्रो समय उहाँलाई दिनरात देखेको भेटेको मैले अन्तिम पटक देख्नै पाउने छैन भनेर । उमेरले ९ दशक पार गरिसक्नु भएकी उहाँ ठूलो मम्मीमा जिन्दगीप्रति कति धेरै सकारात्मक दृष्टिकोण थियो मैले जीवनमा केही दिन सकिनँ । त्यसका बाबजुद पनि उहाँको माया यति निश्चल र पवित्र थियो जसलाई भुल्न म कहिल्यै सक्दिनँ । बेला बेला आएर मलाई उहाँले दिने ढाडसले जीवनका कुनै अप्ठ्यारामा मुस्कुराउने हिम्मत दिइरहन्थ्यो ।
मान्छे मायाको असाध्यै भोको हुन्छ । उ जीवनभर कसैको माया, आत्मियता र सामिप्यतामा रहन चाहन्छ । र कसैबाट यस्तो किसिमको माया, आत्मियता र सामिप्यता पायो भने उ जीवनभरी कृतज्ञ हुनुपर्छ । तर खैर मान्छेको जात निक्कै स्वार्थी हुन्छ । उ क्षणभरमै र्बििर्सदिन्छ कसैले गरेका उ प्रतिका असल व्यवहारहरु ।
मलाई लाग्छ म पनि स्वार्थी भए होला सम्बन्ध निभाउनमा परिस्थिति र बाध्यताको भुमरीमा परेर उहाहरुको अन्तिम घडीमा साथ उभिन सकिन । तर मेरो हृदयको यति नजिकका अति प्रिय व्यक्तिहरुको अन्तिम पटक मुख हेर्न नपाउँदा मेरा यी हातहरुले ती हातहरुलाई सुम्सुम्याउन नपाउदा मेरा ओठहरुले ति निधारहरु चुम्न नपाउदा निक्कै पिडाबोध भएको छ मलाई । म समयलाइ फर्काउन सक्दिनँ र उहाँहरु यो धर्तीमा फर्किन सक्नु हुदैन । तर मेरो हृदयमा म बाचुन्जेल सधैं एकैनास उहांहरु उसरी नै जीवित रहिरहनु हुनेछ ।
मान्छेको जन्म र मृत्यु कहाँ र कसरी हुन्छ त्यो कसैलाई थाहा हुदैन । न जन्म हाम्रो रोजाईमा हुन्छ न त मृत्यु नै । हामी त केबल जन्म र मृत्युका साक्षी मात्र हुन सक्छौ । त्यो पनि आफ्नो होइन अरुको, हामी आफु जन्मिदा के सोचिरहेका हुन्छौ वा मृत्युवरणको क्षण के सोचिरहेका हुन्छौ त्यो कसैलाई बताउन सक्दैनौ ।
हामीले जन्म र मृत्युको बिचमा बाचेको जिन्दगी कसरी बाच्यौ त्यो एकदम महत्वपूर्ण हुन्छ । जन्मिदा कोरा रहेको हाम्रो जिवन बिस्तारै बिस्तारै अनेकौ रंगहरुले भरिदोरहेछ । जिवनले रंग कोेर्र्ने भर्ने क्रममा हो हामीले अरुसंगका सम्बन्धहरुमा कस्तो रंगले रंगाउछौं त्यसैले बचाउदो रहेछ हामीलाई कसैको मृत्यु पश्चात पनि कसैको हृदयमा ।
संसारमा केही सत्य छ भने त्यो मृत्यु मात्र हो । मृत्युको कुनै विकल्प नै छैन । जन्मपछि मृत्यु शास्वत सत्य हो । मेडिकल विज्ञानले कयौ जटिल रोगको निदान खोज्न सफल भए पनि मृत्यु टार्ने औषधी बनाउन असफल छ ।
आध्यात्मले भन्छ, हरेक जीवले शरीर बदल्छ एउटा त्यागेर अर्कोमा प्रवेश गर्दछ तर त्यसलाई आजसम्म कसले प्रमाणित गरेको छ र कि हामी भित्र चलिरहेको स्वासले अर्को शरिरमा प्रबेश गर्यो भनेर । जन्मसंगै हरेक जिवले मृत्युको मिति बोकेर आएको हुन्छ र जसलाई हरेक प्राणीले स्वीकार गर्नैपर्छ र गरिरहेका छन् ।
यो त भयो मृत्युको कुरा सहज लागोस् वा असहज सहनु बाहेक अर्को कुनै उपाय नै हुदैन मान्छेसंग । तर यो सत्य हो मृत्युले मानिसलाइ भौतिक रुपमा जिवित नराखे ता पनि उ जिवित हुदा गरेका राम्रार असल कामहरुले कसै अर्को जिवितको मनमा र स्मरणमा बचाइ रहन्छ । उ आजिवन उनीहरुसंग बिताएका सुन्दर पलहरुलाई यादहरुको नेपथ्यमा कैद गर्छ र बेलाबेला फर्केर हेर्छ अनि केही समय ति पलसंगै बाच्छ ।
म भित्र पनि मेरो जिवनका यि प्रिय व्यक्तीहरु आजिवन बांचिरहने छन् । मेरो जीवनले कोरेको क्यानभासमा उहांहरुको रंग पनि पोतिएको छ र मेरो जीवनको चित्र बनेको छ । मभित्र बाँचेका प्रिय व्यक्तिहरुको जीवन धँुवा भएर वायुमण्डलमा र खरानी भएर गंगामा मिसिसकेको छ कुनै दिन म पनि यसरी नै मिसिने छु । तबसम्म मेरा यादहरुको नेपथ्यबाट मलाई बेलाबेला चिहाइरहनेछन् मेरा यि चारैजना प्रियहरु ।
२७ साउन २०७९, शुक्रवार १४:३८ बजे प्रकाशित































