सुदूरपश्चिम प्रदेश सरकारले भदौभित्रै बजेट ल्याउने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट भदौ महिनाभित्रै ल्याउने तयारी गरेको छ। प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले भदौभित्रै जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी बजेट ल्याउने सोमबार रातोपाटीलाई बताए ।
विगतको बजेटमा देखिएका बेथिति र कमजोरीलाई सुधार गर्दै अहिलेको बजेट जनमुखी बनाइने उनको भनाइ थियो । ‘हिजो बजेटमा बेथिति देखियो। त्यही भएर अहिलेको बजेटमा जनताको अनुभूति हुने गरी बजेट आउँछ,’ उनले भने। चालु आर्थिक वर्षका लागि यसअघि कमलबहादुर शाह नेतृत्वको सरकारले बजेट ल्याए पनि प्रदेशसभाबाट पारित हुन सकेको थिएन। बजेट पारित गर्न नसक्दा सरकारसमेत संकटमा परेको थियो। पछि राजनीतिक समीकरण परिवर्तन भएसँगै शाह नेतृत्वको सरकार ढलेको थियो।
नयाँ सरकार गठन भएपछि प्रदेश सरकारले बजेट पुनर्लेखन गरी भदौ महिनाभित्रै प्रदेशसभामा प्रस्तुत गर्ने तयारी अघि बढाएको हो। मन्त्रालयहरूले योजना तथा कार्यक्रमको पुनरावलोकन गरिरहेका छन् भने सरकारले बजेटका प्राथमिकता निर्धारण गर्ने काम अघि बढाएको जनाएको छ।
नयाँ सरकारले बजेटमा विगतका कमजोरी सच्याउँदै जनताको आवश्यकता र प्रदेशको प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम समेट्ने दाबी गरेको छ। सरकारले बजेटमार्फत स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार, कृषि तथा पर्यटनलगायत क्षेत्रमा जनताले प्रत्यक्ष लाभ पाउने कार्यक्रमलाई प्राथमिकता दिने तयारी गरेको मन्त्री रावलले जानकारी दिए।
१५ भदौ २०८३, सोमवार १३:३५ बजे प्रकाशित














