नेपालले भने- चुनावअघि कुनै पार्टीसँग पनि एकता हुँदैन

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघीय र प्रदेश सभाको चुनाव अगाडि कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् । समाजवादी प्रेस संगठनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीबीच एकीकरणबारे अध्यक्ष नेपालले चुनावअघि एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

‘एकीकरण भइहाल्छ कि भन्ने कतिपयमा बुझाइ छ,’ उनले भने, ‘आगामी चुनावअघि कुनै पनि पार्टीसँग हाम्रो एकताको सम्भावना छैन । एकीकरणको विषयले अहिले कतिपय कमिटी तरंगित भएका छन् । अध्यक्ष नेपालले आगामी चुनावसम्म अहिलेकै गठबन्धनले निरन्तरता पाउने बताए । आवश्यक भएका ठाउँमा गठबन्धनबीच चुनावमा तालमेल हुने उनले बताए ।

अध्यक्ष नेपालले सबै कम्युनिस्ट पार्टीबीच वाम एकता भएर चुनावमा जाने सम्भावना तत्काल नरहेको समेत प्रष्ट पारे ।
समाजवादीले एक्लै जित्ने ठाउँमा एकल उम्मेदवारी दिने र आवश्यक भएका ठाउँमा गठबन्धनबीच तालमेल गरेर जाने उनको भनाइ छ ।


२७ असार २०७९, सोमवार ११:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु