सुदूरपश्चिमलाई संघबाट १७ अर्ब ५५ करोड बजेट
अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत संघीय सरकारले सुदूरपश्चिम प्रदेशलाई साढे १७ अर्ब बजेट अनुदान दिने भएको छ। सरकारले सात प्रदेशका लागि छुट्याएको कुल १ खर्ब २९ अर्ब ४६ करोड बजेटमध्ये सुदूरपश्चिम प्रदेशलाई १७ अर्ब ५५ करोड ८३ लाख बजेट अनुदान दिने भएको हो।
यसरी हस्तान्तरण हुने रकमध्ये सुदूरपश्चिम प्रदेशको हकमा १० अर्ब ९० करोड रुपैयाँ चालू प्रयोजनमा र ६ अर्ब ६५ करोड रुपैयाँ पुँजीगत प्रयोजनमा खर्च हुनेछ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरणअनुसार सबैभन्दा बढी बागमती प्रदेशले सबैभन्दा २० अर्ब ३२ करोड बजेट पाउने छ भने गण्डकी प्रदेशले सबैभन्दा कम १६ अर्ब ५४ करोड बजेट पाउने छ।
सुदूरपश्चिम प्रदेश सबैभन्दा कम बजेट पाउनेमा दोस्रो नम्बरमा छ। सरकारले संघबाट चार प्रकारका अनुदान वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान तल्लो सरकारमा पठाउने गरेको छ।
धनगढी उपमहानगरले ९६ करोड ४८ लाख अनुदान पाउने
कैलालीको धनगढी उपमहानगरपालिकाले संघीय सरकारबाट झण्डै साढे ९६ करोड अनुदान पाउने भएको छ। आगामी आर्थिक वर्षमा प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले ९६ करोड ४८ लाख रुपैयाँ संघीय सरकाबाट अनुदानका रुपमा पाउने भएको हो।
चालू आर्थिक वर्षमा उपमहानगरपालिकाले ८८ करोड ३५ लाख अनुदान पाएको थियो। सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४ खर्ब रुपैयाँ २९ अर्ब प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ। सरकारले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ ।
१९ जेठ २०७९, बिहीवार १५:४७ बजे प्रकाशित































