आज हनुमान जन्मजयन्ती मनाइँदै
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ।
यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया क्षेत्रमा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ। हनुमानढोका दरबारको नासलचोकनजि कै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ।
हनुमान जयन्तीका अवसरमा गरिने शोभायात्रा भने यस वर्ष कोरोनाबाट बच्नका लागि साङ्केतिकरूपमा मात्र गरी विधि पूरा गर्न लागिएको छ। हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएका छन्।
संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ। हनुको अर्थ चिउँडो हो। यो हन् धातुबाट बनेको छ। ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ। अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ। हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ। त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ।
३ वैशाख २०७९, शनिवार ०८:२२ बजे प्रकाशित































