punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकालीमा अझै बनेन पहुँच मार्ग

Chaupati
safha napa

महाकालीको नदीको बीच भागमा चार लेनको पक्कीपुल ठडिएको छ । तर पुलसम्म पुग्ने बाटो छैन । पुलको बीचमा करिब दुई सय मिटर नदीको भाग खोंचमा गएको छ । आसार पहिलो साता आएको महाकालीको बाढीले बगाएको पहुँच मार्ग अझै निर्माण हुन नसक्दा पुल बने पनि आवतजावत हुन सकेको छैन ।

त्यसैमा कात्तिक पहिलो साताको भीषण बाढीले गड्डाचौकीदेखि पक्की पुलसम्मको पहुँचमार्गअन्तर्गतको चौकीसाता नजिकैको बाटो भत्काएका कारण आवातजावत ठप्प हुन पुगेको छ ।गतवर्ष पुल निर्माण नसकिँदै निर्माण कम्पनीले डाइभर्सन (वैकल्पिक मार्ग) बनाएर यातायात सुचारु गरेको थियो ।

त्यही बेला सडक यातायातको पहुँचमा पुगेका महाकालीपारिको दोधारा चाँदनीवासी निकै हर्षित थिए । तर महाकाली नदीमा कात्तिक पहिलो साताको बेमौसमी वर्षापछि आएको बाढीले पुल निर्माणको सपना चकनाचुर पारेको छ ।

‘अब त आफ्नै बाटो भएर महेन्द्रनगर पुग्न सकिन्छ भन्ने लागेको थियो,’ दोधारा चाँदनी नगरपालिका–१ का सुरेश भट्टले भने, ‘तर बाढीले पहुँच मार्ग भत्काएपछि फेरि भारतकै बाटो हिँड्नुपर्ने बाध्यता आएको छ ।’ अहिले दोधारा चाँदनीवासीलाई चारपांग्रे सवारीसाधनका लागि बनबासा पुल भएर भारतकै बाटो प्रयोग गर्नुपरेको छ ।

दुईपांग्रे सवारी साधनका लागि भने झोलुंगे पुलकै प्रयोग भइरहेको छ । महाकाली नदीमा ५ वर्षअघि निर्माण सुरु भएको पक्कीपुलको काम सकिएको छ । ५० मिटर लम्बाइका ३२ स्ल्याब निर्माण भइसकेका छन् । तर पहुँच मार्गकै अभावका कारण पुल निर्माण भए पनि आवागमन सुचारु हुन सकेको छैन ।

पूर्व पश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि पक्कीपुल हुँदै दोधारा चाँदनीको मलेरिया नालासम्म ८ किलोमिटर पहुँच मार्गको काम पनि अन्तिम चरणमा छ । तर कात्तिक पहिलो साताको बाढीले पुल छेउको र चौकीसोता नजिकैको २ सय मिटर पहुँच मार्ग भत्काएपछि पुलसंँग सम्बन्ध विच्छेद भएको हो । पहुँच मार्ग भत्काएपछि निर्माण कम्पनीले तुइन प्रयोग र नदीबाटै तारेर पुलको काम गरेको हो ।

पुलको दुवैतर्फ निर्माण हुने पोखरीको गाइड बन्ड निर्माणका लागि ढुंगा अभावका कारण पहुँच मार्ग सुरक्षित हुन सकेको छैन । कात्तिक पहिलो साताको बाढीले पनि गाइड बन्ड नभएकै कारण पहुँच मार्ग सहजै भत्काएको हो । पुलको दुवैतर्फ २८ सय मिटर लामो र ६ सय मिटर चौडा आँखा आकारको पोखरी निर्माण हुनेछ । बीचमा टापु जस्तै आइल्यान्डहरूसमेत निर्माण हुनेछन् ।

पछिल्लो पटक गाइड बन्डको डिजाइन परिवर्तनको कुरा पनि अघि बढेको छ । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयका अनुसार गाइड बन्डको डिजाइन परिवर्तन भए पनि लागत परिवर्तन भएको छैन । जसका कारण नयाँ डिजाइनअनुसार काम गर्न सकिएको छैन ।

‘डिजाइन परिवर्तन भएको छ, भेरिएसन परिवर्तन भएको छैन,’ इन्जिनियर पाण्डेयले भने, ‘त्यो परिवर्तन भएपछि काम सुरु हुन्छ ।’ उनका अनुसार विगतमा ठूलो ढुंगाको गाइड बन्ड बनाउने डिजाइन थियो । अहिले तारजाली र कंक्रिटसहितको गाइड बन्डको डिजाइन बनेको छ ।

विगतको तुलनामा यो डिजाइन महँगो भएकाले लागत पनि बढी लाग्ने उनले बताए । पोखरीमा निर्माण गर्दा नदीको दुवैतर्फ २५२ किलोग्रामभन्दा बढी तौलका ढुंगा प्रयोग गर्नुपर्ने थियो । महाकालीमा ६ लाख क्युसेक बहाव हुँदा पनि उक्त तौलको ढुंगालाई बगाउन नसक्ने अध्ययन भएको थियो ।

निर्माण कम्पनीले उक्त तौलका ढुंगा नपाउँदा समस्या भएको हो । गाइड बण्डका लागि १ लाख ४० हजार घन मिटर ठूलो ढुंगा आवश्यक पर्थ्यो । अहिले पहुँच मार्ग निर्माणको काम सुरु भएको छ । तर गाइड बण्ड निर्माण नभई पहुँच मार्ग दिगो हुन नसक्ने इन्जिनियर पाण्डेय बताउँछन् ।

‘वैशाख अन्तिमसम्म पुलमा आवागमन सुरु हुने गरी काम चलिरहेको छ,’ उनले भने । उनका अनुसार गाइड बन्डबिनाको पहुँच मार्ग दिगो हुन नसक्ने भएकाले निर्माण कम्पनीले अहिले स्पर बनाउने वा अन्य कुनै संरचना निर्माण गर्ने विषयमा सोचिरहेको छ ।कान्तिपुरबाट

 


८ चैत २०७८, मंगलवार ०९:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु