विष्णु पौडेलसहित एमालेका चार नेता चीन भ्रमणमा
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीन भ्रमणका लागि गएका छन्।आज बिहान पौडेलसहित एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्यसमेत रहेकी कर्णाली प्रदेश सभा सदस्य मीनासिंह रखाल चीन प्रस्थान गरेका हुन्।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू आज बिहान चीनतर्फ गएका छन्।उनीहरूले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पौडेलसहित नेताहरू पाँच दिने भ्रमणका लागि युनान प्रान्तको कुनमिङ जान लागेको रिजालले बताए।
कुनमिङमा इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्स्चेन्ज कार्यक्रम छ। त्यसमा पौडेल वक्ता छन्।कोरोना महामारीपछि पहिलोपटक नेपालबाट राजनीतिक दलका नेताहरूको भ्रमण टोली चीन गएको हो। उनीहरू चैत १४ गते स्वदेश फर्कनेछन्।
यसैबीच चिनियाँ विदेशमन्त्री वाङ यी पनि नेपाल आउने कार्यक्रम छ।चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले यसअघि नेपालका राजनीतिक दलहरूसँग भर्चुअल संवाद पनि गर्ने गरेको थियो।
७ चैत २०७८, सोमवार ०९:२२ बजे प्रकाशित































