डोल्पा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
डोल्पा पनि अब केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ। विद्युतीकरण नभएका कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुतगतिले अगाडि बढेको हो। चालु आर्थिक वर्षको असार महिनाभित्र डोल्पामा केन्द्रीय प्रसारण लाइन पु¥याउने लक्ष्य लिएको बताइएको छ।
प्रसारण लाइन विस्तार गर्ने जिम्मेवारी लिएको सताग्री निर्माण सेवाले विगत ३ वर्षसम्म काम नगरेपछि विद्युत् प्रसारण लाइनको काम रोकिएको थियो। निर्माण व्यवसायीलाई छिटो काम गर्न अन्तिम अल्टिमेटम दिएको र काम नगरे विकल्पसमेत खोज्ने तयारी भएपछि डोल्पामा विद्युत् पुग्ने आशा पलाएको हो।
कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले पटक पटक ताकेता गरेपछि नेपाल विद्युत् प्राधिकरणले असार मसान्तभित्र जसरी पनि डोल्पामा विद्युत् पु¥याउने योजनाका साथ काम भइरहेको प्राधिकरण कर्णाली प्रदेशका प्रमुख शम्भु यादवले बताए।
सताग्री निर्माण सेवाले जाजरकोटको कुदु सव स्टेशनदेखि चौखा हुँदै डोल्पाको त्रिपुराकोटसम्म प्रसारण लाइन निर्माणको ठेक्का लिएको छ। जिम्मेवारी लिए पनि कुनै पनि ठाउँँमा काम नगर्दा समस्य हुँदै आएको हो। डोल्पामा विद्युतीकरण गर्नका लागि चौखामा सवस्टेशन निर्माण कार्य जारी छ। हप्ता दिनभित्र डोल्पाको त्रिपुराकोटमा सव स्टेशन निर्माण गर्नका लागि बोलपत्र खोल्न थालेको प्रमुख यादवले बताए।
असार मसान्तभित्र डोल्पा र मुगुमा बत्ती बाल्ने काम पूरा गरेरै छाड्ने उनले बताए। निर्माण व्यवसायीले काम नगरे प्राधिकरणले आफ्नै स्रोतबाट काम गरेर भए पनि डोल्पासम्म केन्द्रीय प्रसारण लाइनमा पु¥याउने लक्ष्य लिएको उनको भनाइ छ।
२४ फागुन २०७८, मंगलवार १९:४६ बजे प्रकाशित































