punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिनावारी हुँदा शिक्षिका विद्यालय नजाने समस्या हट्यो

Chaupati
safha napa

बाजुराको बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने शिक्षिकाको समस्या समाधान भएको छ। शुक्रवार विद्यालयमा वडाध्यक्ष प्रकाश रावलको नेतृत्वको टोलीले स्थानीय बुद्धिजीवी तथा विभिन्न स्थानका धामीसँग परामर्श गरी देवता हेराउँदा विद्यालयमा प्रवेशमा कुनै बाधा नहुने गरी देवताले अनुमति दिइसकेको मष्टा देउताका पुजारी गंगा रावलले बताए।

उनका अनुसार कैलाश देवता, भेराल मष्टालगायत अन्य देवताका धामीलाई हेराउँदा सबैले छाउ भएका छात्रा र शिक्षिकालाई विद्यालयमा जान दिन पाउने गरी गरी समस्या समाधान गरिएको पुजारी रावलले जानकारी दिए। वर्षौंदेखि महिनावारी हुने शिक्षिकाले पाँच दिनसम्म विद्यालय नजाने गर्दै आएका थिए। कु–प्रथाका रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि बडीमालिका नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रम ल्याएको थियो।

उक्त कार्यक्रमअनुसार वडालाई छाउपडी गोठमुक्त घोषणा गर्ने तयारी थाल्नाका साथै शैक्षिक संस्थामा समेत शिक्षिकाले छाउ भएका बेला विद्यालय जान नपाउने समस्या समाधान गरिएको वडाध्यक्ष रावलले बताए।

पटकपटक विभिन्न सञ्चारमाध्यममा छाउ हुँदा शिक्षिका पाँच दिनसम्म विद्यालय जाँदैनन् भन्ने समाचार आएपछि वडाले गाउँका बुद्धिजीवी, ज्येष्ठ नागरिक र कैलाशलगायतका धामीसँग परामर्श गरी हेराउँदा आजदेखि विद्यालय जान दिने गरी देवता खुसी भएको पुजारी रावलको भनाइ थियो।

रतुडा गाउँमा रहेको विद्यालयमा विगतमा छाउ भएका बेला अध्यापन गराउँदै आएका दुई शिक्षिका चार दिनसम्म विद्यालयमा जानबाट बञ्चित हुँदै आएका थिए। छाउ हुँदा विद्यालय जान नपाएपछि विद्यार्थीले नियमित पठनपाठन गर्न नपाउँदा स्थानीय धामी, वडा कार्यालय र बुद्धिजीवीको सक्रियतामा समस्या समाधानको उपाय निकालिएको नगरपालिकाकी उपप्रमुख कविता विष्टले बताइन्।

बालबालिकालाई शिक्षाबाट बञ्चित गराउने र महिनावारी भएका बेला शिक्षिकाले पनि विद्यालय जान नपाउने समस्या समाधान भएकामा उनले खुसी पनि व्यक्त गरिन्।

वडाध्यक्ष रावलले छाउपडी कुप्रथा अन्त्य गर्नका लागि रतुडा कैलाशका प्रमुख धामी राम ऐडी, धामी किष्णा ऐडी, मष्टाका पुजारी बहादुर रावल, शिलाडाका मुख्य धामी सुरेन्द्रबहादुर रावल, भगवतीका पुजारी दलबहादुर रावल, भेरालका धामी हीरेन्द्र विक, गोल लोहारलगायतलाई विद्यालयमै बोलाएर छलफल गराएका थिए।

विद्यालय व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले महिनावारी ९छाउ० भएका बेला शिक्षिकाले पढाउन आउनुपर्ने निर्णयसमेत गरेको विद्यालयमा प्रधानाध्यापक प्रकाशबहादुर ऐडीले बताए। छलफलपछि धामी, पुजारी र बुद्धिजीवीले विद्यालयमा महिनावारी (छाउ) भएका बेला शिक्षिकालाई रोक नलगाउने सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए।


२१ फागुन २०७८, शनिवार १३:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु