सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जागिरका लागी आवेदन दिएकाहरुको दस्तुर फिर्ता गर्ने
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनलायले २ वर्षअघि करारमा सेवा लिन आवेदन पेश गरेका १ सय ४३ स्वास्थ्यकर्मीको दस्तुर फिर्ता गर्ने भएको छ। २०७६ सालको फागुन २८ र ३० गते निर्देशनालयले विभिन्न ४८ पदमा सेवा करारमा लिन विज्ञापन आह्वान गरेको थियो।
आवेदन परे पनि लगत्तै कोरोनाभाइरसको महामारी फैलिएपछि परीक्षा लिन नसकिएको निर्देशनालयले जनाएको छ। लामो समयसम्म पनि परिक्षा लिन नसकिएपछि विज्ञापन नम्बर १.२०७६०७७ देखि ४८.२०७६०७७ सम्मका सबै कार्यक्रम रद्द गरिएको सूचना २०७७ साउन १४ गते प्रकाशित गरिएको निर्देशनालयले जनाएको छ।
त्यसको डेढ वर्षपछि आइतबार अर्को सूचना जारी गर्दै निर्देशनालयले त्यसबेला पदअनुसार ६ सय र एक हजार रुपैयाँका दरले दस्तुर तिरेका सबै उम्मेद्वारलाई दस्तुर रकम फिर्ता लैजानु भनेको छ।
निर्देशनालयका निमित्त प्रदेश स्वास्थ्य निर्देशक जगदीश जोशीले विज्ञापन गरिए पनि कोरानाले परीक्षा हुन नसकेको र राजश्वमा पैसा जम्मा भइसकेकाले तत्काल फिर्ता गर्न नसकिएको बताए। उनले यस वर्ष सो बजेट प्राप्त भएकाले दस्तुरवापतको रकम फिर्ता गर्न लागिएको बताए।
निर्देशनालयका प्रशासन सहायक व्यवस्थापक विष्णु साउदका अनुसार अहिलेसम्म पनि लोक सेवा नखुलेकाले ती पद रिक्त रहेका बताए। उनले कोरोनाकालमा केही पदमा मन्त्रालयले करारमा सेवा दिन कर्मचारी खटाएको हुनसक्ने बताए।
१६ माघ २०७८, आइतवार १८:३५ बजे प्रकाशित































