बेलडाँडीमा ‘तपाईँको मास्क खोइ’ अभियान

कञ्चनपुरको बेलडाँडीमा ‘तपाईँको मास्क खोइ’ अभियान सञ्चालन गरिएको छ । बढ्दो कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बेलडाँडी गाउँपालिका र इलाका प्रहरी कार्यालय बेलडाँडीले ‘तपाईँको मास्क खोइ’ अभियान सुरु गरेको हो ।

अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईँको मास्क खोइ’ लेखिएको व्यानरको प्रयोग गरी सचेतना अभियान सुरु गरिएको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले जानकारी दिए ।

सम्पूर्ण सडक प्रयोगकर्ता आम सर्वसाधारणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकालाई लगाउन प्रेरित गर्ने अभियानको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

कोरोना सङ्क्रमण बढ्न थालेपछि मास्कको अनिवार्य प्रयोग गर्ने लगायतका जनस्वास्थ्य सुरक्षाका मापदण्डको कडाइका साथ पालना गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आदेश समेत जारी गरेको छ ।

माघ ७ गतेदेखि सार्वजनिक स्थान र यातायातमा खोप कार्ड अनिवार्य गरिने, भिडभाड हुने गतिविधि नगर्ने, २५ जनाभन्दा बढी मानिसहरू भेला नहुने, सीमाबाट फर्किनेहरूको अनिवार्य एन्टिजेन परीक्षण गर्ने, स्थानीय तहमा आइसोलेसन व्यवस्थापन गर्ने, माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने लगायतका निर्णय तथा आदेशहरू जारी गरिएको छ ।


७ माघ २०७८, शुक्रवार १७:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु