बैतडी हत्या प्रकरण : नवराजले पनि गरे हत्या गरेकाे स्वीकार
बैतडीको सुर्नया गाउँपालिका-६ खर्काधारका डम्मर अवस्थीको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका सोही ठाउँका नवराज अवस्थीले पनि हत्यामा संलग्न रहेको स्वीकार गरेका छन् ।
आइतबार नियन्त्रणमा लिएका नवराजलाई सोधपुछ गर्दा उनी पनि हत्यामा संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
अब अदालतबाट म्याद थपेर उनीमाथि थप अनुसन्धान गरिने ओझाको भनाइ छ ।उनले भने, ‘अहिलेसम्म डम्मरको हत्यामा दुईजना संलग्न रहेको स्वीकार गरिसकेका छन् । हामी उनीहरूमाथि थप अनुसन्धान गरिरहेका छौं ।’
यसअघि सोही ठाउँका हरिश अवस्थीले पनि डम्मरको हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन् ।गएको मंसिर १४ गतेबाट हराएका डम्मरको शव गत बुधबार स्थानीय धुरा जंगलको गुफामा गाडेको अवस्थामा फेला परेको थियो । उनको शव हत्या गरी गुफामा गाडेको अवस्थामा फेला परेको हो ।
शव पोस्टमार्टमपछि भइसके पनि उनको अन्तिम संस्कार हुन सकेको छैन । उनका आफन्तहरूले हत्यामा संलग्न भएका सबै पक्राउ नपर्दासम्म शव नबुझ्ने अडान लिएका छन् ।
डम्मर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता समेत भएकाले उनको पार्टीले समेत हत्यामा संलग्न सबैको पहिचान गरी कारबाही हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग अघि सारेको छ ।
४ माघ २०७८, मंगलवार १०:०९ बजे प्रकाशित































