सीमानाकामा स्वास्थ्य सतर्कता
कोरोना नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण देखिन थालेपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा संक्रमण रोकथामका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सतर्कता अपनाउन थालिएको छ ।भारतीय सीमासँग जोडिएका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडीका सीमानाकामा सुरुदेखि नै हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिनेको स्वास्थ्य जाँचसंँगै एन्टिजेन परीक्षण भइरहेको थियो ।
तर दोस्रो चरणको संक्रमण घट्न थालेपछि भारततर्फ आउजाउ पनि बढेको छ । नयाँ स्वरूपको कोरोना देखा पर्न थालेपछि केही दिनयता थप सतर्कता बढाइएको छ ।भारतमा पनि ओमिक्रोन संक्रमित भेटिएपछि बैतडीस्थित नेपाल—भारत सिमानाका झुलाघाटमा सीमामा आउजाउ गर्नेको स्वास्थ्य परीक्षणलगायत सतर्कता अपनाइएको छ ।
अघिल्लो सातासम्म स्वास्थ्य सतर्कतामा केही खुकुलो भएको गरिएको भए पनि सीमा आवतजावतमा अहिले कडाइ गरिएको छ । भारतबाट नेपालतर्फ आउने सबैको एन्टिजेनमार्फत कोरोना परीक्षण नाकामै भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
लक्षणसहितका व्यक्ति भेटिएमा पीसीआर र अन्य परीक्षणका लागि स्वाब संकलनको काम पनि गर्ने उनले बताए । उनले भने, ‘केही दिनअघिसम्म खोप लगाएकाको परीक्षण गरेका थिएनौं । अहिले सबैको अनिवार्य गरेका छौं ।’
सीमामा भएको हेल्थ डेस्कमा अनिवार्य कोरोना परीक्षण गरेर मात्र सीमापारिबाट आएकालाई प्रवेश गर्न दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतबाट आएकालाई होम क्वारेन्टिनमा बसि दिन पनि आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । भारतले पनि खोप लगाएको १५ दिन पूरा भएकाहरूलाई मात्र पारि जान दिने गरेको उनको भनाइ थियो ।
२६ मंसिर २०७८, आइतवार १२:२८ बजे प्रकाशित






























