punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हिंसाविरुद्धका अभियान सदरमुकाम केन्द्रित

Chaupati
safha napa

महिला हिंसाविरुद्धको १६ दिने अभियान अहिले देशभर सञ्चालन भइरहेको छ । प्रायः सबै जिल्लामा महिलाहरू यो अभियानको क्रममा विभिन्न कार्यक्रममा सरिक भएका भेटिन्छन् । पोस्टर, ब्यानर बोकेर बजार परिक्रमा, महिला हिंसाविरुद्धका नारा र जुलुस प्रदर्शन गरेर कार्यक्रमहरू सञ्चालन भएका छन् ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमका साथ अछाममा पनि यो अभियानले निरन्तरता पाएको छ । विभिन्न सामाजिक संघसंस्था र स्थानीय तहले पनि कार्यक्रम गरिरहेका छन् । तर यसको प्रभाव ग्रामीण भेगका महिलाहरूमा नपर्ने गरेको मंगलसेन नगरपालिका—१३ की अमृता रावत बताउँछिन् ।

‘हामी सदरमुकामको नगरपालिकाका बासिन्दा हौं । तर कहाँ के कार्यक्रम हुन्छन् हामीलाई नै जानकारी हुँदैन,’ उनले भनिन्, ‘दुर्गम गाउँबस्तीका महिलालाई यस्ता अभियानबारे जानकारी हुने त कुरै भएन, गाउँमा महिलाका दुःखपीडा उस्तै छन् । १ घण्टा कार्यक्रममा बसेर केही सिक्न सकिन्न ।’

बर्सेनि आयोजना हुने अभियानका बखत मदिरा सेवन, छाउपडी कुप्रथाजस्ता समस्याको बारेमा कसैले समुदायमा आएर छलफल नगरेको चौरपाटी गाउँपालिका— २ की महिला स्वास्थ्य स्वयंसेविका नरपता साउद बताउँछिन् ।

‘गाउँका महिलाका हरेक दुःख सुखमा हामी नै साथमा हुन्छौं । यस्ता अभियान आउँदा पनि कहाँ के कार्यक्रम छ भनेर महिलाहरूले हामीलाई सोध्छन् । तर हामीलाई नै जानकारी हुँदैन,’ उनले भनिन् ।अछामकै बान्नीगढी जगयढ गाउँपालिका —४ की रत्ना ठकुल्ला पनि यस्ता अभियान अगुवा महिलाहरूका लागि मात्रै भएको बताउँछिन् ।

‘हिंसामा परेका, जसले अभियानको बारे जानकारी पाउनुपर्ने हो ती महिलाले कहिल्यै अवसर पाउँदैनन्,’ उनले भनिन्, ‘महिलाको यस्ता कार्यक्रमको नाममा बजेट छुट्याउँछन् । त्यो बजेट केमा खर्च हुन्छ भन्ने पनि हामीलाई जानकारी हुँदैन ।’

पछिल्लो समयमा महिला हिंसा छुवाछूतजस्ता घटना झनै बढिरहेको दलित महिला संघ अछामकी कार्यक्रम संयोजक लक्ष्मी सोव बताउँछिन् । ‘समग्र महिलाभन्दा दलित महिला अझै हिंसामा छन् । अहिले हामीले दलित महिलाको क्षेत्रमा बोल्न सक्ने बानीको मात्रै विकास होस् भन्ने उद्येश्यले समुदायमा गएर कार्यक्रम गरिरहेका छौं,’ उनले भनिन्, ‘सदरमुकाम केन्द्रित कार्यक्रमभन्दा पनि हामीले यस्ता कार्यक्रमलाई ग्रामीण समुदायमा लैजाने प्रयास गरिरहेका छौं ।’

यसअघिका वर्षहरूभन्दा यो वर्ष फरक तरिकाले अभियान सञ्चालन गरिएको मंगलसेन नगरपालिकाकी उपप्रमुख सरिता उपाध्यायले बताइन् । ‘नगरका १४ वटै वडामा गएर महिलाहरू जम्मा गरेर अन्तरक्रिया कार्यक्रम गरेका छौं । अब त्यताबाट संकलन गरेर ल्याएका महिलाका समस्यालाई समाधान गर्नतिर लाग्ने छौं ।’कान्तिपुरबाट


२४ मंसिर २०७८, शुक्रवार १३:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु