नेकपा (एकीकृत समाजवादी) : बैतडीका पाँच पालिकामा नेतृत्व चयन
नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ।जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत हालसम्म पाँच स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का बैतडी अध्यक्ष महादेव भट्टले जानकारी दिए।
हालसम्म दोगडाकेदार, सुर्नया गाउँपालिका, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिसकिएको जनाएको छ।
दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१, मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो।
गठन गरिएका सबै पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मंसिर महिनाभित्र नेतृत्व चयन गरिने नेकपा एकीकृत समाजवादी बैतडीले जनाएको छ।
एमालेसँग विभाजन भएपछि सो पार्टीले संगठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ। तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबै तहमा कमिटी गठन गरिने जनाइएको छ।
मंसिरमा सबै पालिकामा संगठन विस्तार गरिने र त्यसपछि संगठन सुदृढीकरण अघि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष दिनेश ठगुन्नाले बताए।
एमाले रहँदा यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो। महादेव भट्ट अध्यक्ष रहेको १५१ सदस्यीय उक्त समानान्तर कमिटी समाजवादीमा समाहित भएको हो।
१८ मंसिर २०७८, शनिवार १६:१५ बजे प्रकाशित































