डब्ल्यूएचओले भन्यो- युरोप फेरि कोभिडको केन्द्रमा छ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले युरोपभरि कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढेको बताएको छ । सङ्क्रमित बढिरहँदा उक्त महादेश पुनः एकपटक कोभिड महामारीको ‘केन्द्र’ बनेको उसले बताएको हो ।
एउटा पत्रकार सम्मेलनमा डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताए । खोप पर्याप्त मात्रामा नलगाइँदा सङ्क्रमितको सङ्ख्या बढको उनको भनाई छ । ‘हामीले हाम्रो काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्छ । कोभिड-१९ बढेकोमा प्रतिक्रिया जनाउने भन्दा सुरुमै यो सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नुपर्छ,’ उनले भने ।
हालैका महिनामा युरोपमा खोप लगाउने दर घटेको थियो । स्पेनमा करिब ८० प्रतिशत मानिसले दुवै मात्रा खोप लगाएका छन् भने फ्रान्स र जर्मनीमा भने क्रमशस् ६८ र ६६ प्रतिशतले मात्रै लगाएका छन् । पूर्वी र मध्ययुरोपका केही देशमा त खोप लगाउनेको सङ्ख्या अझै कम रहेको छ । सन् २०२१ को अक्टोबरसम्ममा जम्मा ३२ प्रतिशत रुसीहरूले मात्रै पूर्ण मात्रा खोप लगाएका छन् ।
डब्ल्यूएचओका युरोप प्रमुख क्लुग्अले सङ्क्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका कारण पनि सङ्क्रमण बढेको बताएका छन् । युरोपेली क्षेत्रमा मध्यएसियाका केही भागसहित ५३ देश समेटिन्छन् । डब्ल्यूएचओले अहिलेसम्म उक्त क्षेत्रमा १४ लाख मानिसको मृत्यु भइसकेको पुष्टि गरेको छ ।
डब्लूएचओका कोभिड-१९ प्राविधिक प्रमुख मरिया भान कर्कोफले खोप र सामाग्रीको उपलब्धताका बावजुद विगत चार सातामा युरोपभरि सङ्क्रमित ५५ प्रतिशतले बढेको बताइन् । उनका सहकर्मी डाक्टर माइक रायनले पनि युरोपको अहिलेको अनुभव विश्वका लागि चेतावनी भएको बताए । जर्मनीमा विगत २४ घण्टामा नयाँ सङ्क्रमितको दैनिक सङ्ख्या ३४ हजार पुगेका बेला उनले यस्तो चेतावनी दिएका हुन् ।
१९ कात्तिक २०७८, शुक्रवार १३:४० बजे प्रकाशित































