गृहयुद्ध रोक्न ‘कू’ गरेको सुडानको सेनाको दाबी
सुडानको सेनाका प्रमुखले सैन्य ‘कू’को बचाउ गरेका छन्। सेनाका जनरल अब्देल फत्ताह अल ब्रुहनले मुलुकमा गृहयुद्ध रोक्न सरकार विघटन गर्नुपरेको बताएका छन्।अलजाजिराका अनुसार ब्रुहनले मंगलबार ‘कू’को विषयमा बोल्दै सेनासँग राजनीतिक पार्टीहरुलाई हटाउनुको कुनै विकल्प नरहेको बताएका हुन्।
सुडानमा सेनाले सत्ता आफ्नो हातमा लिएसँगै मानिसहरुले सेनाविरुद्ध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनको क्रममा केही मानिसहरुको मृत्यु भइसकेको छ।प्रजातान्त्रिक व्यवस्था लागू गर्न सुडानमा राजनीतिक दल र सेनाको संयुक्त संक्रमणकालीन सरकार बनाइएको थियो। तर, सेनाले कू गरेसँगै अब सुडानको प्रजातन्त्र पुनः खोसिएको छ।
ब्रुहनले सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोक सुरक्षित रहेको र आफ्नै घरमा रहेको बताएका छन्। सुडानका लागि १२ मुलुकका राजदूतले सैन्य ‘कू’ अस्वीकार गरेका छन्।एक विज्ञप्ति जारी गर्दै उनीहरुले ‘कू’ को विरोधमा रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले सुडानमा भएको सैन्य कूको विरोध गर्दै सुडानलाई आपतकालीन सहयोगस्वरुप दिन लागिएको ७० करोड डलर नदिने बताएका थिए।एजेन्सी
१० कात्तिक २०७८, बुधवार ०९:०५ बजे प्रकाशित






























