भारतीय अतिक्रमणमा परेका तीन गाउँमा जनगणना नहुने
भारतीय अतिक्रमणमा परेको दार्चुलाका तीन गाउँमा जनगणना नहुने भएको छ । नेपालको चुच्चे नक्सामा समेटिएका नावी गुञ्जी र कुटीमा जनगणना नहुने भएको हो ।अहिले सरकारले जिल्लाका सबै स्थानीय तहमा घर सुचिकरणको लागि सुपरीवेक्षक खटाए पनि तीन गाउँमा खटाउन नसकेको हो ।
भदौ ३० गतेदेखि असोज १८ गतेसम्म जिल्लाभरी ४५ जना सुपरिवेक्षक खटिएका थिए । ती गाउामा घरपरिवार सूचीकरणको काम समेत भएको छैन् ।यो क्षेत्रमा २०१८ साल पछि जनगणना हुन सकेको छैन् । जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेका अनुसार अहिले सुरक्षा उपस्थिती नभएको कारण यो क्षेत्रमा गणना सम्भव छैन ।
‘अहिले हाम्रो राज्यको उपस्थित जहाँसम्म छ, त्यहाँसम्म मात्रै जनगणना हुन्छ,’ उनले भने।
नेपाल सरकारले उपभोग गर्न नसकिरहेको र नेपाल सरकारको प्रशासनिक तथा सैनिक उपस्थिति नभएको ठाउँमा सुपरीवेक्षक पठाउन सम्भव नरहेको पाण्डेको भनाई छ ।
पाण्डेका अनुसार दुई नगर र सात गाउँपालिकामा दुईवटा स्थानीय जनगणना कार्यालय छन । दार्चुलामा ४९ जना सुपरिवेक्षक खटिएका छन । एक सुपरिवेक्षकको भागमा चारवटा जति गणना क्षेत्र परेको छ ।
‘चुच्चे नक्सामा परेको क्षेत्रमा नेपाली भूमि भएरै जान सुपरिवेक्षकका लागि बाटो भएन । असुरक्षाका कारण हामीले त्यता सुपरिवेक्षक नखटाएका हौं,’ उनले भने । ‘नेपाली भूमिमा नेपालबाटै पुग्ने बाटो नभएसम्म गणनाको लगत संकलन सजिलो छैन ।’
अहिले सरकारको उपस्थित व्याँसको छांगरु तथा तिंकरमा मात्रै छ । त्यो भन्दा वर अहिले जनगणना गर्न सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत दार्चुलामा घर तथा घरपरिवार सूचीकरणको अन्तिम चरणमा पुगेको छ । घर तथा घरपरिवार सूचीकरण गर्न यहाँका गाउँगाउँमा खटिएका सुपरीवेक्षकले काम अन्तिम चरणमा पुर्याएका छन् ।
भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्यांक सबै इन्ट्री गर्न दशै पछिसम्मको समयावधि दिइएको छ । जिल्लामा कर्मचारी र डेरा गरी बस्नेहरुको तथ्याङ्क संकलनमा केही समस्या भएको पाण्डेले बताए । ‘अन्य व्यक्तिबाट कुनै असहयोग भएको छैन’ उनले भने, ‘डेरावाला र कर्मचारीलाई बढि सम्झाइ बुझाई डाटा लिनुपरेको छ ।’
विसं २०६८ को जनगणनाअनुसार दार्चुलाको जनसंख्या १ लाख ३३ हजार २ सय ७४ र परिवारको संख्या २४ हजार ६१८ रहेको छ । २०५८ मा भएको जनगणना अनुसार जिल्लाको जनसंख्या १ लाख २१ ह्जार ९९६ र परिवार संख्या २१ ह्जार ५९ रहेको थियो । पछिल्लो जनगणनाअनुसार जिल्लामा हरेक १० वर्षमा परिवार र जनसंख्या बढ्दै गएको देखिएको छ ।
पहिलो चरणमा संकलित तथ्यांकका आधारमा मूल गणना गरिने कार्यालयले जनाएको छ। मूल गणना आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । नेपालमा हरेक १०÷१० वर्षमा जनगणना हुने गर्छ । यसपल्टको जनगणना ‘मेरो गणना, मेरो सहभागिता : राष्ट्रिय जनगणना २०७८’ नाराका साथ भइरहेको छ ।
१९ असोज २०७८, मंगलवार १७:३० बजे प्रकाशित































