टिंकरका बासिन्दा सञ्चारविहीन
दार्चुलाको व्यास गाउँपालिका–१ टिंकर क्षेत्रका स्थानीय करिब दुई वर्षदेखि सञ्चार सुविधाविहीन छन् । नेपाल टेलिकमको सञ्चार सेवाले काम गर्न छोडेपछि स्थानीय सञ्चारविहीन हुन पुगेका हुन् ।
जिल्लाकै उच्च भूभागमा पर्ने बस्ती र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सरुक्षाकर्मी बसोबास रहेको ठाउँमा नेपाल टेलिकमको सञ्चार सेवाले काम गर्न छोडेको हो । टिंकरका स्थानीय गाउँबाहिर खबर गर्न छाङरु पुग्ने गरेको स्थानीय दानसिंह टिंकरीले बताए ।
२०७७ पुसदेखि अवरुद्ध व्यासको छाङरुस्थित नेपाल टेलिकमको स्काई टावर आठ महिनापछि सञ्चालनमा आए पनि टिंकरमा भने सञ्चार सेवा पुग्न सकेको छैन ।‘गाउँमा केही भए खबर गर्न सञ्चार सेवा नहुँदा हामी साह्रै समस्यामा परेका छौं,’ स्थानीय मोहनसिंह टिंकरीले भने, ‘केही खबर पुर्याउनुपरे छाङरु जानुपर्छ ।
टिंकरबाट छाङरु पुग्न करिब एक दिन लाग्छ । फोन गर्न पनि एक दिनको बाटो हिँड्नुपर्ने अवस्थामा छौं ।’ छाङरुमा सशस्त्र प्रहरीसित वायरलेस फोन सेवा छ । टिंकरका स्थानीयले त्यसैबाट केही खबर बेंसी पुर्याउने गरेका छन् । उक्त वायरलेसमा बेंसीबाट खबर गर्न सकिँदैन । ‘छाङरुबाट मात्र खबर गरे फोन हुन्छ, सदरमुकामबाट हामीले फोन गरे लाग्दैन,’ उनले भने ।
गत वर्षमै छाङरुमा टेलिकमको फोरजी सेवासहितको फोन सुचारु गर्ने भन्दै टावर गाडिए पनि उपकरण जडान गरिएको छैन । अवरुद्ध स्काई फोन सेवा तत्काल सुचारु गर्न सबै सरोकारवाला निकायलाई जानकारी भए पनि वास्ता नगरेको स्थानीय भनाइ छ । स्थानीय दानसिंहका अनुसार दुई वर्षअगाडिसम्म छाङरुको टावरले टिंकरमा काम गर्थ्यो । हिउँदमा बिग्रेको टावर मर्मत नभएपछि टिंकरतिर सञ्चार सम्पर्क टुटेको हो ।
टिंकरका बासिन्दालाई समेत सञ्चार सेवा दिन टावर निर्माण गर्न सर्भे गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । टिंकरमा सञ्चार पहुँच पुर्याउन पहल भइरहेको उनको भनाइ छ । स्थानीय वैशाखतिर गाउँ गएदेखि नै गाउँपालिकाले नेपाल टेलिकमलाई पत्राचार गरी नस्काई टावर सञ्चालन गर्न माग गरेको थियो ।
लामो समयदेखि बिग्रेको सञ्चार सेवा सुचारु नहुँदा व्यासका स्थानीयको समस्या बुझ्न नसकिएको सदरमुकाममा रहेका टिंकरका स्थानीय मोहनसिंह टिंकरीले बताए । ‘हाम्रो क्षेत्रबाट बारम्बार पहल गरिएको छ । काम गर्ने निकायको ध्यान पुग्न सकेको देखिँदैन,’ उनले भने ।
१२ असोज २०७८, मंगलवार १३:३१ बजे प्रकाशित































