सुत्केरीको मृत्यु : तीन दिनसम्म पनि उठेन शव
सुत्केरीको मृत्यु भएको तीन दिनसम्म पनि आफन्तले अस्पतालबाट शव उठाएका छैनन् । मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै शव उठाउन नमानेका हुन ।
शनिबार सुत्केरी ब्यथा लागेपछि धनगढीको नवजीवन अस्पताल पुगेकी डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पना सिंह मल्लको आइतबार बिहान मृत्यु भएको थियो। महिनौँअघिदेखि चेकजाँच गर्दै आएका डाक्टरले बिरामीको अवस्था थाहा नपाउनु लापरबाहीको पारकाष्ठा रहेको मृतकका आफन्तले बताउदै आएका छन् ।
बिरामी स्वयंले अप्रेसनका लागि अनुरोध गर्दा पनि चिकित्सकले भ्याकुम प्रयोग गर्दा मृत्यु भएको दाबी आफन्तले गरेका छन् । आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग राख्दै माग सम्बोधन नभएसम्म मृतकको शव नउठाउने अडान लिएका छन् । सोमबार दिनभर जिल्ला प्रशासन कार्यलय कैलालीमा बस्दा पनि सहमति हुन नसकेपछि आज पुनस् जिल्ला प्रशासनमा सहमतिको प्रयास भैरहेको छ ।
अस्पतालको भनाइ नवजीवन अस्पतालको स्त्रीरोग विशेषज्ञ डाक्टर जयराज केसीले सुत्केरी मल्लको उच्च रक्तस्रावका कारण मृत्यु भएको बताएका छन् । अस्पतालका विशेषज्ञ चिकित्सले हरप्रयास गर्दा पनि सुत्केरी महिलालाई बचाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।
सुत्केरी मल्लको पाठेघरको मुख नरम मात्रै भएर एक घर खुलेको र औषधिले अर्को घर खुलाइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यसपछि बच्चाको धड्कन कम हुँदै गएको र आमामा बच्चा जन्माउने बल नपुगेपछि भ्याकुम प्रयोग गरेर शनिबार राति ११ बजेर ४४ मिनेटमा डेलिभरी गराइएको जनाइएको छ । त्यसक्रममा पाठेघरको मुख फराकिलो बनाउन इपिसियोटोमी एक्सटेन्डेड टियर दिइएको अस्पतालले जनाएको छ ।
इपिसियोटोमी एक्सटेन्डेड टियरलाई सिलाउन प्रयास गर्दा उनले असहज महसुस गरेपछि एनेस्थेसियालाई बोलाएर टाँका सिलाउने काम गरिएको, तर अत्यधिक रक्तस्रावका कारण बिरामीलाई कार्डियाक एरेस्ट भएर मृत्यु भएको दाबी अस्पतालको छ । चिकित्सकहरूले कुनै लापरबाही नगरेको भन्दै अस्पतालले आइतबार स्पष्टीकरण दिइसकेको छ ।
१२ असोज २०७८, मंगलवार १३:०६ बजे प्रकाशित































