सम्झौता गत वर्षकै, काम भर्खरै
टीकापुर अस्पतालमा गत आर्थिक वर्षभित्रै अक्सिजन प्लान्ट राख्ने सम्झौता भए पनि अझैसम्म काम पूरा भएको छैन । कोरोनाको दोस्रो लहरका बेला अक्सिजन अभावमा संक्रमितले ज्यान गुमाउनु परेको पीडालाई मध्यनजर गरी टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको पहल गरिएको थियो ।
गत आर्थिक वर्षभित्रै अक्सिजन प्लान्ट स्थापना गर्ने गरी हेल्थ केयर सप्लायर्ससँग सम्झौता भए पनि सप्लायर्सले प्लान्ट स्थापनामा ढिलाइ गरेको हो ।
कोरोना महामारीका कारण आवश्यक उपकरण समयमै ल्याउन नसकिएकोले प्लान्ट स्थापनामा ढिलाइ भएको सप्लायर्सका प्रतिनिधि विमल मिश्रले बताए । ‘प्लान्टका उपकरण चीनबाट आउने हो । विश्वव्यापी माग बढेकोले नेपालमा आउन आउन ढिलाइ भयो,’ उनले भने ।
उपकरण टीकापुर आइपुगेको र अबको केही दिनमा प्लान्ट जडानको काम सकिने अस्पताल प्रशासनले जनाएको छ । उक्त प्लान्टबाट दैनिक करिब ५५ सिलिन्डर अक्सिजन उत्पादन हुने जनाइएको छ । अहिले टीकापुर अस्पतालमा नेपालगञ्जबाट अक्सिजन आपूर्ति गर्ने गरिएको छ ।
टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि प्रदेश सरकारले ८० लाख, टीकापुर नगरपालिकाले २० लाख, जानकी गाउॅपालिका र भजनी नगरपालिकाले १५र१५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
प्लान्ट स्थापनाको रकम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिवले भदौसम्ममा भुक्तानी गरिदिने जानकारी गराएका टीकापुर अस्पतालका डा. रेमकुमार राईले बताए । प्लान्ट स्थापनाको लागि दिइएको म्यादमा काम सम्पन्न हुन नसकेपछि आफूले पाएको अधिकार अनुसार म्याद थप गरेको डा. राईले बताए ।
थप म्यादमा पनि काम पूरा नहुॅदा सुदूरपश्चिम प्रदेश मन्त्रालयमा आफुले जानकारी गराएको र प्रदेश मन्त्रालयमार्फत प्रक्रिया अघि बढेको उनले बताए ।
कोरोना संक्रमित बिरामीको उपचारमा अक्सिजन अत्यावश्यक भए पनि प्लान्ट स्थापनामा सरोकारवालाले उतसारो चासो दिएको देखिँदैन । ‘अब प्लान्ट बनेपछि अक्सिजनका कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था नरहने र बिरामीका आफन्त पनि अक्सिजनका लागि भौतारिनु पर्ने छैन,’ डा.राईले भने ।
२३ भदौ २०७८, बुधवार १४:५७ बजे प्रकाशित






























