राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमका पाँच नेतालाई कारबाही
राष्ट्रिय जनमोर्चाले पार्टीविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुदूरपश्चिमका पाँच नेतालाई कारबाही गरेको छ। उनीहरूलाई पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै साधारण सदस्यतासमेत नरहने गरी अनिश्चितकालका लागि निश्कासित गरिएको छ।
केन्द्रीय सदस्य लालबहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षदहरू लक्षीराम आचार्य (कैलाली), केशवनाथ योगी (डोटी) र गोविन्द विक (कञ्चनपुर) लाई कारबाही गरेको राजमो सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
राष्ट्रिय जनमोर्चाले फुटपरस्त गतिविधिमा संलग्न रहेको भन्दै ती पाँच नेतालाई कारबाही गरिएको जनाएको छ। ‘भदौ ८ र ९ गते सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाको नाममा केही व्यक्तिहरुले भेला गरी समानान्तर कमिटी बनाएका थिए’ जारि विज्ञप्तिमा भनिएको छ, ‘समानान्तर कमिटी बनाउने कार्यमा संलग्नलाई कारबाही गरिएको छ।’
राजमोले भ्रमवश पार्टीविरोधी समूहमा सामेल नेता कार्यकर्ताहरूलाई पार्टीमा फर्कन आग्रहसमेत गरेको छ।
२३ भदौ २०७८, बुधवार १२:२२ बजे प्रकाशित































