बैतडीमा जिप दुर्घटना, चालकसहित दुईजना घाइते
महाकाली राजमार्गमा जिप दुर्घटना हुँदा चालकसहित दुईजना घाइते भएका छन्। दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बा १२ च ४२४० नम्बरको जिप दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सोमबार बिहान साढे ७ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा कञ्चनपुरको वेदकोट नगरपालिका–८ गयलनदीका हरिस बोहरा र दोगडाकेदार–२ बडियाका दानसिंह भाट घाइते भएका छन्। उनीहरुको स्थानीय क्लिनिकमा सामान्य उपचारपछि बाहिर रेफर गर्ने तयारी भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए।
स्कारपियोमा चालकसहित दुई जनामात्रै रहेको प्रहरीले जनाएको छ। वर्षाका कारण सडक चिप्लो भएर दुर्घटना भएको बमको भनाइ छ। जिप सडकबाट १०० मिटर तल खसेको छ।
१४ भदौ २०७८, सोमवार ०९:०७ बजे प्रकाशित































