Hotel Flora Long Ad

कञ्चनपुरमा शिक्षक संघको आन्दोलनमा झडप, केही प्रहरी र अन्दोलनकारी घाइते

कञ्चनपरमा शिक्षक संघको आन्दोलनमा शुक्रबार झडप भएको छ । शिक्षक दरबन्दी मिलान विरुद्ध चर्केको आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।

झडपसंगै भीमदत्त नगरपालिका क्षेत्र तनावग्रस्त बनेको छ । नेपाल शिक्षक संघले एक महिनादेखि सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउन कांग्रेस कार्यकर्ता र नेविसंघका पदाधिकारीहरु नगरपालिका पुगेपछि झडपको अवस्था आएको थियो ।

शिक्षक संघका पदाधिकारी र नेविसंघका विद्यार्थीहरुले नगरपालिकाको कार्यालयमा ताला लगाउन खोज्दा प्रहरीले रोकेपछि अवस्था तनावग्रस्त बनेको हो । त्यसपछि आन्दोलनकारीहरुले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन् । आन्दोलनकारीको ढुंगा प्रहारबाट ९ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ । त्यसक्रममा दुई जना नगर प्रहरी पनि घाइते भएका छन् ।

आन्दोलनकारीहरुले नगरपालिकाको मुल गेटमा आन्दोलनकारीले ताला लगाउन खोज्नेक्रममा प्रहरीले रोकेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले बताए । उनले आनदोलनकारीले एकाएक प्रहरीमाथि नै ढुंगा र सिसा प्रहार गरेको बताए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीले लाठी चार्ज गर्दा १२ जनाभन्दा बढी शिक्षक र अन्य आन्दोलनकारीहरु पनि घाइते भएको नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविनसिंह धामीले बताए । उनका अनुसार शिक्षक वीरेन्द्र बोहोरा गम्भीर घाइते भएकाले उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

‘आज बिहान शिक्षा शाखामा लगाएको ताला खोल्ने योजना थियो, हाम्रो आन्दोलनमा ऐक्यबद्धता जनाउन शुभेच्छुक संस्था र कांग्रेसका नेताहरु प्नि पुगेका थिए,’ सचिव धामीले भने, ‘भीडभाड बढी नै थियो त्यहि भीडमा घुसपैठ भएर ढुंगा प्रहार हुँदा अवस्था बिग्रियो ।’ उनका अनुसार यसअघि नगरपालिकासँंग विभिन्न पटक भएको सहमति अनुसार शुक्रबार शिक्षा शाखामा लगाइएको ताला खोल्ने कार्यक्रम थियो ।

असार ३१ गते भीमदत्त नगरपालिकाले लामो समयपछि शिक्षक दरबन्दी मिलान गरेको थियो । नगर शिक्षा समितिले प्रावि तहमा ५२, निमावि तहमा २३ र मावि तहमा १३ शिक्षकको दबरन्दी मिलान गरेको थियो ।

जसका लागि नगरपालिकाले समेत एक समिति बनाएर अध्ययन गरेको थियो । त्यसकै आधारमा दरबन्दी मिलान गरिएको नगरपालिकाले जनाएको छ ।

‘नेविसंघका विद्यार्थी र कांग्रेस कार्यकर्ताले नगरपालिकामा ढुंगा र सिसी प्रहार गरेका छन्,’ भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले भने, ‘यसबाट नगरपालिकाको प्रशासनिक भवनसँंगै, सचिवालय र सभाहललगायतका ठाउँमा क्षति पुगेको छ ।’ उनले शिक्षक संघको आन्दोलनमो राजनीतिक घुसपैठ भएको बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ विपरित दरबन्दी मिलान गरेको भन्दै शिक्षक संघ आन्दोलनमा उत्रेको हो । संघले साउन ३ गतेदेखि नगरपालिकाका शिक्षा शाखामा ताला लगाएको थियो ।

साउन १८ देखि धर्ना र रिले अनसनको कार्यक्रम सुरु गरिएको थियो । अवस्था तनावग्रस्त बनेपछि नगरपालिका र अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


४ भदौ २०७८, शुक्रवार १८:०७ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु