जुवाडे भगाएको आरोपमा ५ प्रहरी निलम्बन
कैलालीमा ५ प्रहरीलाई निलम्बन गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित एक होटेलमा छापा मार्दा रकम असुलेर जुवाडे भगाएको आरोप लागेपछि उनीहरूलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले जानकारी दिए।
प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानबिनका लागि गठित टोलीको सिफारिसका पाँच जनालाई निलम्बन गरिएको चन्दले बताए।
उनले थप छानबिन भइरहेको समेत जानकारी दिए । ‘अहिले छानबिन भइरहेको छ । छानबिन टुङ्गो नलाग्दा सम्म निलम्बन गरिएको हो’ उनले भने।
प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार नैनाचन्द्र धामी, प्रहरी जवान एकेन्द्र खड्का र प्रेमसिंह धामी तथा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद जैसी र रामसिंह कुँवरलाई निलम्बन गरिएको उनले बताए।
त १८ गते प्रहरीले जुवा खेलिरहेको अवस्थामा छापा हानेको थियो । त्यस बेला जुवा खालबाट ८५ हजार बरामद गरेको प्रहरीले दाबी गरे पनि जुवा खेली रहेका कोही पक्राउ परेका थिएनन् ।त्यसको केहि दिन पछि कैलाली प्रहरीले जुवा खालबाट भागेका ३ जना सहित जुवा खेलाउने होटेल सञ्चालकलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
२९ साउन २०७८, शुक्रवार १६:२९ बजे प्रकाशित































