माओवादी केन्द्रबाट को-को थपिदैछन् मन्त्री ? यी हुन् सम्भावित नाम
देउवा नेतृत्वको सरकारमा क-कसलाई मन्त्री बनाएर पठाउने भन्ने विषयमा माओवादीले टुंगो लगाउने तयारी गरेको छ । त्यसैका लागि आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।
बैठक दिउँसो १ बजे बस्ने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए । माओवादी केन्द्रको भागमा उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पर्नेछन्।
यसअघि माओवादीबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेका छन्। तर उपप्रधानमन्त्रीका रूपमा जान नारायणकाजी श्रेष्ठसहितले जोडबल लगाइरहेको बताइएको छ ।
माओवादीको भागमा परेका बाँकी मन्त्रालयमा श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, अञ्जना विसङ्खे, सुरेशकुमार राई र शशीले दाबी गरेका छन्।
यस्तै सांसदहरु सुदन किराती, शिवकुमार मण्डल, हरिराम चौधरीको नाम पनि मन्त्रीको चर्चामा छ। मन्त्रीको चर्चामा रहेकामध्ये नारायणकाजी र हरिराम राष्ट्रियसभा सदस्य हुन्।
स्रोतका अनुसार माओवादी केन्द्रले सकेसम्म सातै प्रदेश समेटेर मन्त्री बनाउने भएको छ। कर्णालीबाट शर्मा, बागमतीबाट भुसाल मन्त्री भइसकेका छन्।
६ साउन २०७८, बुधवार ०८:३८ बजे प्रकाशित













