तेस्रो म्याद पनि सकियो, काम सकिएन

कञ्चनपुरमा हुलाकी सडक निर्माण सुरु भएको पाँच वर्ष पुग्यो । तीन वर्षमा सडक निर्माण सक्ने गरी ठेक्का सम्झौता भए पनि ७५ प्रतिशत मात्रै काम भएको छ । तीन पटक थपिएको समयावधि पनि पूरा भइसकेको छ ।

कञ्चनपुरमा हुलाकी सडक निर्माणको काम २०७३ फागुनदेखि सुरु भएको हो । कैलाली कञ्चनपुरको सीमा क्षेत्र डोकेबजारदेखि बेलौरी, बेलडाँडी हुँदै दैजीसम्म ६२ किलोमिटर सडकलाई तीन खण्डमा बाँडेर ठेक्का सम्झौता भएको हो । तीनवटै खण्डमा ७०/७५ प्रतिशत मात्रै काम भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ ।

‘तीन पटकसम्म म्याद थपेर पनि काम सकिएको छैन,’ हुलाकी सडक आयोजनाका इन्जिनियर पदम मडैले भने, ‘जति पटक म्याद थपे पनि कामले गति लिन सकेन ।’ पहिलो र तेस्रो खण्डको म्याद गत फागुनमै र दोस्रो खण्डको जेठमा म्याद सकिएको हो । तीनवटै खण्डमा फेरि ६/६ महिना म्याद थप हुने सम्भावना छ ।

डोकेबजारदेखि बेलौरीको बुटाबारीसम्म पहिलो खण्डमा २० किलोमिटरमध्ये करिब १८ किलोमिटर सडक कालोपत्र भएको छ । अहिले नाली तथा ह्युम पाइप राख्ने काम भइरहेको छ । बुटाबारीदेखि बेलाडाँडीसम्म दोस्रो खण्डमा २० किलोमिटरमध्ये ८ किलोमिटर मात्रै सडक कालोपत्र भएको छ । बेलडाँडीदेखि दैजीसम्म २२ किमिमध्ये १० किमि मात्रै कालोपत्र भएको छ ।

पहिलो र तेस्रो खण्डको सडक निर्माणका लागि २०७३ फागुनमा शर्मा राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । पहिलो खण्डको ३६ करोड ४७ लाख र दोस्रो खण्डको ४८ करोड ५७ लाखमा ठेक्का सम्झौता भएको हो ।

दोस्रो खण्डको सडक निर्माणका लागि ४१ करोड ७६ लाखमा बाबा हंस निर्माण कम्पनीसँग २०७३ पुसमा ठेक्का सम्झौता भएको हो । ‘पहिलो र तेस्रो खण्डमा कामको प्रगति विगतको तुलनामा राम्रो छ,’ इन्जिनियर मडैले भने, ‘दोस्रो खण्डको भने प्रगति निकै कम छ ।’


२२ असार २०७८, मंगलवार ११:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु