Hotel Flora Long Ad

हैजा महामारीमा अस्पताल स्थापनाका योद्धा : जसले जन्माए बयालपाटा अस्पताल

यही जेष्ठ २५ गते जापानमा रहेका नेपाली काँग्रेस जिल्ला कार्य समिति अछाममाका सदस्यसमेत रहेका लोकेन्द्रजंग कुँवर ‘लोचन’को अगुवाईमा ८० हजार रुपैयाँ बराबरको औषधि बयालपाटा अस्पतालका लागि आयो ।

अस्पतालका लागि सहयोगार्थ औषधि पठाइएको जानकारी दिँदै उनले फोनबाटै अर्को विगतलाई पनि सम्झाए । जसले बयालपाटा अस्पताल स्थापनाको इतिहासलाई कोट्याउन बाध्य पार्यो । अहिले स्वास्थ्य क्षेत्रमा नमूना बनेको अस्पतालको इतिहासबारे बुझ्न कौतुहलता जाग्यो । जसको बलिदान र संघर्षबाट अहिलेको बयालपाटा अस्पताल खडा भयो । जो यौद्धाको सम्झनामा कुँवरले स्वास्थ्य सामग्री जापानबाट पठाए ।

वि.स. २०३४ सालमा अछाममा हैजाको महामारी फैलिएको थियो । थुप्रै मानिसहरुले ज्यान गुमाए । औषधि उपचारको अभावमा कयौं थला परिसकेका थिए । त्यति बेला सहजरुपमा उपचार र औषधि पाउने व्यवस्था नै थिएन । सदरमुकाम मंगलसेनमा रहेको जिल्ला अस्पतालमा पुग्न सहज थिएन । क्षेत्र नम्बर १ मा हैजा व्यापक फैलिएपछि यहाँका अगुवाहरुले अस्पतालको लागि आन्दोलनको सुरुवात गरे । हैजा प्रभावित मानिसहरुको उपचार र बयालपाटामा अस्पताल स्थापनाका लागि तत्कालित बयालपाटा गाउँपञ्चायतका अगुवाहरुले आन्दोलन गर्ने निष्कर्षमा पुगे ।

आफ्ना माग लिएर तत्कालिन प्रधानपञ्च डम्बरबहादुर स्वाँरको टोली काठमाडौं पुग्यो । सोही क्रममा टोलीले तत्कालिन राजा बिरेन्द्र सरकारको ध्यान केन्द्रित गरे । हैजा प्रभावित क्षेत्रका लाििग तत्कालिन सरकारले तत्कालै औषधिसहित स्वास्थकर्मीको टोली पठाउने निर्णय गर्यो । सरकारले औषधि त पठायो तर स्वास्थकर्मीको टोली पठाएन ।

औषधि जिल्ला अस्पतालको लागि पठाइएको थियो । त्यति बेला ढुवानीको एक मात्र साधन खच्चर थियो । खच्चरमा ल्याइएको औषधि ०३४ भदौ २९ गते साँफेबगरमा पुगेको थियो । औषधिको बाटो हेरेर बसेका नैनसिंह कडायतको टोलीले औषधि साँफेमा नै रोक्यो । जिल्ला अस्पतालबाट औषधि बितरण गर्दा ढिलाई हुने भन्दै यहाँका अगुवाहरुले साँफेबगरमै औषधि जफत गरे ।

औषधि नै जफत गरेको खबर पाएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी श्रीमान् श्रेष्ठको टोली साँफेबगर पुग्यो । जफत गरिएको औषधि लैजाने र स्थानीय मागका विषयमा छलफल गर्न प्रजिअसंग वार्ताका लागि टोली बस्यो । हैजा प्रभावित क्षेत्रमा मंगलसेनबाट औषधि बितरण गर्दा ढिला हुने भएकाले बयालपाटाबाटै औषधि बितरण गर्नुेपर्ने माग यहाँका अगुवाहरुले राखे । उक्त प्रस्तावमा सहमति जुटेन सकेन । भनाईहरु बाँझिन थाले ।

विवाद चर्किदा घटनाले अर्कै मोड लियो । झडपको अवस्था सिर्जना भयो । प्रहरीले चलाएको गोली लागि आन्दोलनमा सहभागि जनालीकोटका ३ जना गिरी सुनार, शेरबहादुर कुँवर, कर्णबहादुर साउँद र गाज्राका रंगबहादुर खड्काको घटनास्थलमै ज्यान गयो । २३ जना गम्भीर घाइते भए । हैजाको औषधि लिन र अस्पताल स्थापनाको माग गर्न गएका मानिसहरु आफन्तको शव र घाइतेहरुलाई लिएर घर फर्किए ।

साँफेबगर गोली काण्डको दोषी ठहर गर्दे तत्कालिन बयालपाटा प्रधानपञ्च जनालीकोटका डम्बरबहादुर स्वाँर, जनालीकोटका गंगबहादुर कुँवर, चण्डिकाका नैनसिंह कडायत, गाज्राका गगनसिंह खड्का, रिडिकोटका तप्तबहादुर स्वाँर, चण्डिकाका शिबबहादुर कुँवर, सिद्धेश्वरका डबलबहादुर कुँवर, कालिमाटीका हस्तबहादुर शाह, खाल्सैनका कालुसिंह कँुवर गरि ९ जनालाई गिरफ्तार गरेर काठमाडौंस्थित सैनिक क्याम्पमा लगियो । देशद्राहीको मुद्दा लगाई ६ महिनापछि सबैलाई धनगढी कारागारमा ल्याइयो । कारागारमा जेल जीवन बिताइरहेका उनीहरुको २०३६ सालको जनमत संग्रहपछि मुद्दा नै खारेज भयो ।

नैनसिंह कडायतका अनुसार उनीलगायत झडपका क्रममा वार्ताका लागि बसेका केहीले झ्यालबाट हाम फालेर ज्यान जोगाए । जफत गरेको औषधि प्रशासनले लगेर गयो । ढिलै भएपनि औषधि बितरण भयो । त्यति बेलासम्म थुप्रैले ज्यान गुमाइसेकेका थिए । जेल जीवनपछि फेरि निरन्तर बयालपाटामा अस्पताल स्थापनाका लागि आवाज उठाएको कडायत बताउँछन् । थुप्रै संघर्ष र बलिदानीपछि ०३९ सालमा अस्पताल स्थापना भयो । भौतिक संरचना निमार्ण भए तर सञ्चालन हुन सकेन । राजनीतिक खिचातानी जग्गा बिवादका कारण निमार्ण भएका भौतिक संरचना करिब ३ दशकसम्म प्रयोगमा आउन सकेनन् । भौतिक संरचना जिर्ण भन्दै गए ।

०६४ सालमा अमेरिकामा अध्ययनरत नेपाली र अमेरिकन चिकित्सकहरुको सहकार्यमा न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्थाले, नेपाल सरकार स्वास्थ्य मन्त्रालयसंग साझेदारी गरि साँफेबगरमा स्वास्थ सेवा संचालन भयो । साँफेबगरबाट प्राथमिक बहिरंग, आकस्मिक उपचार (२४ औं घण्टा), औषधि तथा ल्याब सेवासहित समुदायमा आधारित प्राथमिक स्वास्थ्य सेवाको प्रारम्भ गर्यो । न्याय हेल्थ नेपालको निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारी बन्दै जादा साँफेबगरस्थित भौतिक संरचना साघुँरो भइरहेको थियो ।

साँफेमा एक मात्र न्याय हेल्थको सेवा बयालपाटामा सार्ने विषयमा छलफल सुरु भयो । ०६५÷०६६ को जिल्ला परिषदबाट बयालपाटा सार्ने सहमति भयो । ०६५ साल भदौं ५ गतेका दिन न्याय हेल्थ नेपाल साँफेबगरबाट बयालपाटा सर्यो । त्यसपछि स्वास्थको क्षेत्रमा बयालपाटा अस्पताल नमुनाको रुपमा स्थापित भयो । बयालपाटा अस्पतालले जिल्लामा स्वास्थको क्षेत्रमा कायापलट गर्न सफल भयो ।

अस्पतालले हाल बहिरंग सेवा, २४ सै घण्टा अन्तरग, आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरु प्रदान गर्दै आइरहेको छ भने शल्यक्रिया मार्फत प्रसुती सेवा, सुरक्षित गर्भपतन सेवा, हाडजोर्नीका सर्जरीहरु निशुल्क, मानसिक स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।

निकै लामो संघर्षपछि स्थापित बयालपाटा अस्पतालबाट गुणस्तरीय स्वास्थ्थ सेवा अछामी नागरिकले पाइरहेको भन्दै कडायत खुशी व्यक्त गर्छन् । केही साथीहरुको बलिदानीले सार्थकता पाएको कडायतले बताए । अस्पताल प्रशासन र यहाँका नेताहरुले आफूलगायत बलिदानी दिने साथीहरु र उनका परिवारलाई नसम्झीने गरेको उनी गुनासो गर्छन् । ‘अस्पताल स्थापनाको श्रेय अहिलेका जिल्लाका नेताहरुले लिन खोज्छन् तर जसको रगतले अस्पताल स्थापना भयो उनीहरुलाई सम्झिने काम भएको छैन’ भन्छन् उनी ।

अस्पताललाई राजनीति गर्ने थलोको बनाएको बन्दै उनी दुःखी पनि हुन्छन् । ‘अहिले अस्पतालमा आर्थिक संकट छ, तीन तहको सरकार हुँदा पनि निःशुल्क स्वास्थ सेवा दिइरहेको अस्पतालमा बजेट अभाव हुनु दुःखको कुरा हो,’ उनी भन्छन्, ‘अस्पताललाई अझै राम्रो बनाउने तर्फ भन्दा पनि त्यहाँ राजनीति गर्ने थलो बनाइएको छ।’ ७१ वर्षीय कडायत बेला बेलामा अस्पतालको अवस्था बारेमा बुझ्न अस्पताल पुग्छन् । ‘अहिले कोरोना महामारीमा थुप्रैले ज्यान गुमाइरहेका छन्,’ उनी भन्छन्, ‘उतिबेलाको महामारीमा स्वास्थ्य उपचार र औषधि नपाएर मानिसहरु ज्यान गुमाउने गर्थे ।’

उनकाअनुसार अस्पताल स्थापनाका लागि आन्दोलनरतमध्ये अहिले उनीलगायत चार जना जिवित छ । चण्डिकाका गंगा कुँवर (हाल टिकापुर), गाज्राका गगनसिह खड्का (हाल काठमाडौं) र कालुसिह कुँवर छन् । त्यति बेलाको घटनालाई अछामीहरुले ‘साँफेबगर गोली काण्ड’ भनेर भन्ने गर्छन् ।

स्वास्थको क्षेत्रमा नमुना बनेको अस्पतालले अहिले आर्थिक संकट झेलिरहेका छ । बैदेशिक सहायता कटौती हुँदै गएपछि अस्पतालले गत वर्ष ३४ जना कर्मचारी निकाल्न बाध्य भयो । जसका कारण एक जना सरसफाई कर्मचारी सिद्धार्थ आउजीले अस्पतालमै आत्मदाह गरे । अस्पतालले अहिले संघ, प्रदेश र स्थानीय सरकारसंग बजेटको माग गरिरहेको छ।


२९ जेठ २०७८, शनिवार १२:०७ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु