कोरोना संक्रमित हुनेभन्दा निको हुने बढी
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १६ हजार ८१४ नमूना परीक्षण गरिएकोमा ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी निको हुनेको संख्या ८ हजार २४३ छ ।यस आधारमा क्रमशः निको हुनेको संख्यामा बढोत्तरी भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ नमूना परीक्षण गरिएको थियो ।नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६८ जनाको निधन भएको छ । हालसम्म कूल ७ हजार ७९९ जनाको कोरोनाबाट दुःखद निधन भएको छ ।
हालसम्म कूल ५ लाख ८५ हजार १०० कोरोना संक्रमित भएकामा ४ लाख ८४ हजार ३७३ जना निको भएका छन् । यस आधारमा कूल निको हुने दर ८२।८ प्रतिशत रहेको छ ।
काठमाडौं उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा १३ हजार १५९ सक्रिय संक्रमित छन् । १ लाख ७८ हजार ६६२ जना निको भएका छन् भने १ हजार ६७६ जनाको निधन भएको छ ।
भक्तपुरमा ३ हजार ७६७ जना सक्रिय संक्रमित छन् भने १६ हजार ५९४ जना निको हुँदा ३३४ जनाको ज्यान गएको छ ।ललितपुरमा ५ हजार ११८ जना सक्रिय संक्रमित रहँदा २९ हजार ६६ जना निको भइसकेका छन् । कोरोनाबाट जिल्लामा ४७४ जनाको ज्यान गएको छ ।
२२ जेठ २०७८, शनिवार १९:४५ बजे प्रकाशित






























