कैलालीका २ निर्वाचन क्षेत्रमा चाँडै उप–निर्वाचन हुनुपर्छ : सोडारी
नेकपा एमाले कैलालीका (माधव समूह) अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका पूर्ब सामाजिक विकास मन्त्री दीर्घ सोडारीले कैलालीका २ निर्वाचन क्षेत्रमा चाँडै उप–निर्वाचन गराउनुपर्ने बताएका छन् ।
पार्टीको घोडाघोडी नगर कमिटीद्वारा आयोजित नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभाको प्रतिनिधिविहीन बनेको कैलाली क्षेत्र नम्बर ३ र ४ निर्वाचन क्षेत्रमा ६ महिना भित्र चाँडै उप–निर्वाचन हुनुपर्ने बताए ।
‘३ र ४ निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रले निर्वाचित सांसदलाई निलम्बित गरेको छ,’ उनले भने, ‘निर्वाचन क्षेत्रहरु जनप्रतिनिधिबिहीन गराउन मिल्दैन । निर्वाचन आयोगले तुरुन्तै उप–निर्वाचन गराउनु पर्छ ।’
यस्तै नेता सोडारीले एमालेमा ओली प्रवृत्ति अन्त्य गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए । पार्टीको नवौ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्ष बनेका भीम रावललाई कसैले कार्बाही गर्न नसक्नेसमेत बताए ।
रगत पसिनाले बनाएको एमाले पार्टीमा स्वघोषित इन्चार्ज अध्यक्ष भन्नेहरुलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने उनको भनाई छ ।
यस्तै कार्यक्रममा कैलाली सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्मर साउद, घोडाघोडी नगर उपप्रमुख प्रेमा थापालगायले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन पूर्ण जोशीले गरेका थिए ।
४ वैशाख २०७८, शनिवार १८:२१ बजे प्रकाशित












