पाँच करोडको लागतमा आधुनिक उद्यान निर्माण हुने
कञ्चनपुरको लालझाडी गाउँपालिकामा आधुनिक उद्यान निर्माण हुने भएको छ । लालझाडी–१ सुख्खड घाटमा पाँच करोड रुपैयाँको लागतमा आधुनिक उद्यान निर्माण गर्न लागिएको हो ।
लालझाडी गाउँपालिकाका अनुुसार उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र लालझाडी गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बन्न लागेको लालझाडी गाउँपालिकाले जनाएको छ।
यसका लागि मन्त्रालयले तीन करोड ३० लाख र गाउँपालिकाले एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछन् । उद्यान निर्माण हुने स्थानको छनोट गरी गाउँपालिकाले पर्खाल लगाउन सुरु गरेको छ ।
उद्यानमा पानीका फोहरा, फूलका क्यारी, फुटपाथ, झुला, सेल्फी प्वाइन्ट, विश्रामस्थल रहनेछन् । गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले विभिन्न वस्तुका आकृति, शौचालय, क्यान्टिन, टिकट काउन्टर, चौकीदार घरसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि उद्यानलाई आकर्षक ढंगले सजाउने काम गरिने बताए।
उद्यानमा सौर्यबत्तीको व्यवस्थासँगै रङ्गीबिरङ्गी बत्तीसमेत जडान गरिने उनले बताए ।
उद्यान क्षेत्रमा पुग्नका लागि कालोपत्रे सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने योजना गाउँपालिकाले अघि सारेको गाउँपालिकाका अध्यक्ष वडायकले जनाएको छ । उद्यान झण्डै १० विगाहा क्षेत्रफलमा निर्माण हुनेछ ।
२७ फागुन २०७७, बिहीवार १५:३९ बजे प्रकाशित































