बलात्कारपछि हत्या गरिएकी भागरथीको महाकालीमा अन्त्येष्टि
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका –७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको १७ दिन पछि आज महाकालीमा अन्त्येष्टि गरिएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो। यसअघि सदरमुकाम गोठालापानीबाट महाकाली नदी सम्म शव यात्रा निकालिएको थियो। भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो।
गत माघ २२ गते विभत्स हत्या गरिएको अवस्थामा भागरथीको शव जिल्ला अस्पतालमै राखिएको थियो।
घटनामा संलग्नको पहिचान हुनुपर्ने मागगर्दै मृतकका आफन्तले शव बुझ्न मानेका थिएन।
प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो। भट्टले भागरथीको बलात्कार पछि आफैले हत्या गरेको बिहीबार प्रहरीसमक्ष बयान दिएपछि आफन्तले शव बुझ्न मानेका हुन्।
बुधबार नै भागरथीका दाइ शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दिएका छन्।
७ फागुन २०७७, शुक्रवार १६:१३ बजे प्रकाशित













