बैतडीमा किशोरीको बलात्कारपछि हत्या, जंगलमा भेटियो शव
बैतडीमा बिहीबार एक किशोरीको बलात्कारपछि हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको हो । ती किशोरीको शव स्थानीय लवलेक जंगलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्तले जानकारी दिएका छन् ।
बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर किशोरीको शव हत्या गरि फालिएको अवस्थामा फेला परेको छ । आफन्तकाअनुसार मृतकको शरिरभरी निलडाम र घाउहरु रहेका छन् । कपडा पनि च्यातिएको अवस्थामा छन् ।
स्थानीयकाअनुसार विगत केही दिनदेखि केही केटाहरुले किशोरीलाई मोटरसाइकलमा विद्यालय लैजाने र पुर्याउने गर्दै आएका थिए । अहिले तिनै केटाहरुमाथि शंका गरिएको छ । ‘किटानी जाहेरी दिएर दोषीलाई कारवाहीको माग गर्छौ ।’ संलग्नलाई कानुनी दायरामा नल्याउदासम्म घटनानस्थलबाट शव समेत नउठाउने आफन्तले बताएका छन् ।
ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेब नाथको भनाई छ । घटना हुनु निकै दुखद भएको भन्दै उनले घटनामा संलग्नलाई आवश्यक कारवाही हुनुपर्ने माग गरे ।
घटनास्थलकै प्रकृति हेर्दा शंकास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले बताए । ‘बिच जंगलमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा छ,’ उनले भने, ‘थप कुरा अनुसन्धानपछि खुलासा होला ।’ घटनास्थललाई सुरक्षित पारिएको खोचलेक प्रहरी चौकीले जनाएको छ ।
घटनालाई गम्भीर रुपमा लिएको र थप अनुसन्धानका लागि घटनास्थलतर्फ आफैं गइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए । किशोरीको कसले किन हत्या गरेको हो भन्ने बिषयमा अहिले नै भन्न सकिने अवस्था नरहेको उनले बताए । घटना शंकास्पद रहेको भन्दै उनले घटनाबारे थप अनुसन्धान हुने बताए ।
घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाईसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
२२ माघ २०७७, बिहीवार २०:१२ बजे प्रकाशित