भारत जान हिँडेका नेपालीहरु गड्डाचौकीमै अलपत्र
सरकारले शुक्रबारबाट देशभरका नाकाहरु खोल्ने निर्णय गरे पनि कञ्चनपुरको गड्डाचौकी नाकामा भारत जान हिँडेका नेपालीहरु सीमाक्षेत्रमा अलपत्र परेका छन् ।
सरकारले शुक्रबार बिहान ११ बजेबाट औपचारिक रुपमा चौबिसै घण्टा नाका खोल्ने निर्णय गरेपनि गड्डाचौकी नाकामा भने नेपालीहरुलाई भारत जानमा रोक लगाइएको छ ।
उनीहरुलाई सीमानाकामा खटिएका सुरक्षाकर्मीहरुले आधिकारीक जानकारी नआएको भन्दै फर्काएको बताइएको छ । उता, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले समेत मेडिकल टिम फर्किसकेको भन्दै नेपालीहरुलाई भारत प्रवेशमा रोक लगाएको छ ।
नाका खुलेको सुनेर भारत हिँडेका सयौं युवाहरु गड्डाचौकीस्थित सीमाक्षेत्रमा अलपत्र परेका हुन् । यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले भने सरकारले भारतसँग सीमा जोडिएका नाकाहरु खोल्ने निर्णय गरेपनि आन्तरिक तयारीका कारण शुक्रबारबाटै नाका खोल्न नसकिएको बताए ।
उनले कोभिड महामारीका बेला स्वास्थ्य सुरक्षासमेत अपनाउनुपर्ने भएकाले सो बारे बैठकबाट निर्णय गरेर नाका खोलिने बताए । यसअघि सरकारले बिहान ६ बजेदेखि १० बजेसम्म दैनिक चार घण्टा नाका खोल्ने निर्णय गरेको थियो ।
१६ माघ २०७७, शुक्रवार १७:३१ बजे प्रकाशित






























