प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गोदावरीमा ४ सय ८१ जनाले रोजगारी पाउने
कैलालीको गोदावरी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ४ सय ८१ जनाले रोजगारी पाउने भएका छन । चालु आर्थिक बर्षको कार्यक्रम अन्तरगत पहिलो चरणमा नगरपालिकाका १२ ओटै वडाका ४ सय ८१ जनाले रोजगारी पाउने भएका हुन ।
नगरपालिकाका रोजगार संयोजक राम लाल भट्टका अनुसार कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यक्रम अन्तरगत एक सय दिने रोजगारीका लागि रोजगारी दिन लागिएको छ ।
एक सय दिने रोजगारीका लागि १२ वटै वडाबाट २० ओटा योजना छनोट गरिएको
उनले जानकारी गराउदै रोजगारीका लागि २ करोड ४८ लाख ९० हजार रुपैयाँ खर्च गरिने बताए।
रकम खर्च गर्दा सत प्रतिशत ज्यालामा आधारीत कार्यक्रम संचालन गरिने रोजगार संयोजक भट्टले जानकारी गराए । कार्यक्रम अन्तरगत नाली निर्माण, तटबन्ध निर्माण, पार्क मर्मत, पोखरी निर्माण, खेलमैदान निर्माण, गोरेटो बाटो निर्माण, पाईप लाईन खन्ने लगायतका योजना छनोट गरिएको उनले बताए ।
फागुन १ गते देखि संचालन हुने उक्त कार्यक्रमका लागि गोदावरी नगरपालिकाको वडा नम्बर १ मा ५१ जना, वडा नम्बर २ मा २६ जना, वडा नम्बर ३ मा २२ जना, वडा नम्बर ४ मा ३६ जना, वडा नम्बर ५ मा ४० जना र वडा नम्बर ६ मा ३१ जना छनोट गरिएका छन ।
त्यस्तै वडा नम्बर ७ मा ४० जना, वडा नम्बर ८ मा ४८ जना, वडा नम्बर ९ मा ४० जना, वडा नम्बर १० मा ५६ जना, वडा नम्बर ११ मा ४८ जना र वडा नम्बर १२ मा ५० जना छनोट गरिएको रोजगार संयोजक भट्टले बताए । चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ४ हजार ५ सय ७८ जनाले फर्म भरेका थिए ।
फर्म भरेका मध्ये करिब १० प्रतिशतले मात्रै एक सय दिने रोजगारी पाउन लागेका उनले जानकारी गराए । रोजगार संयोजक भट्टले गत बर्ष रोजगारी पाउनेहरुको नाम वडाबाटै छनोट गरिएकोमा यस बर्ष भने फर्म भरेका आधारमा कम्युटर प्रणाली मार्फत नै प्राथमिकरण लिस्ट तयार पारिएको बताए ।
१६ माघ २०७७, शुक्रवार ११:४७ बजे प्रकाशित































