सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन्। बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको मुख्यमन्त्रीका स्वकीय सचीव शीवसिंह ओलीले बताए।
प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहमा रहेका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले पदमुक्त गरेका हुन्।
डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए। बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए।
१४ पुस २०७७, मंगलवार ११:५१ बजे प्रकाशित













