लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : स्वरुप परिवर्तन गरेर मनाइने
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका बारेमा मंगलवार धनगढी उप–महानगरपालिकाले समाजिक संघसंस्थाहरुसंग छलफल गरेको छ । कोरोना कहरका कारण अन्य वर्षको जस्तो भिड जम्मा गरेर कार्यक्रम आयोजना गर्न नसकिने भएकाले कार्यक्रमहरुको स्वरुपहरु परिवर्तन गरिने भएको छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला भट्टले धनगढी उप–महानगरपालिकाका क्रियाशिल राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुलाई बोलाएर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई कसरी सफल बनाउने भन्नेमा छलफल गरिएको बताइन् । ‘सबैले आफ्ना कार्यक्रमहरु प्रस्तुत गरे उप–प्रमुख भट्टले भनिन्, ‘सबैका कार्यक्रमहरुलाई कसरी एकीकृत रुपमा लैजाने भन्ने बारेमा छलफल भएको छ ।’
सबैका कार्यक्रमहरु समावेश हुनेगरी कार्यक्रमहरुको १६ दिनका लागि योजना बनाउने जिम्मा उप–महानगरपालिकालाई दिइएको छ । उप–महानगरपालिकाले बुधवार ११ बजे उप–महानगरपालिकाको परिसरमा जनप्रतिनिधी, कर्मचारी र अन्य सहभागिहरुलाई सेतो रिवनको लैङ्गिक हिंसाविरुद्धको लोगो पहिराएर अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसको अगुवाई उप–महानगरपालिकाको महिला शाखाले गर्ने उपप्रमुख भट्टले जानकारी दिइन् । त्यसपश्चात उप–महानगरपालिकाका महिला जनप्रतिनिधिहरुलाई लैङ्गिक हिंसा न्यूनीकरणका लागि सकारात्मक सोच सम्वन्धी तालिममा सहभागी गराइनेछ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तले लैङ्गिक हिंसाविरुद्धको अभियान सबै वडामा पुग्नेगरी कार्यक्रम तय गरिने बताए । उनले भने, ‘सबैसम्म सन्देश पुगोस् भनेर रेडियो जिंगल, रेडियोबाट प्रत्यक्ष प्रशारणका कार्यक्रमहरु बनाउन छलफलमा सुझाव दिइयो,’ उनले भने, ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर १० गते (आज)देखि २५ गतेसम्म चल्ने छ । यस वर्ष नेपाल सरकारको नारा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता, ब्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ रहेको छ ।
९ मंसिर २०७७, मंगलवार १९:२० बजे प्रकाशित































