Hotel Flora Long Ad

पानी पिउन अझै खोला–नहरकै भर

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का केही बस्तीमा अझै खानेपानीको व्यवस्था छैन । नहर र खोलाकै पानीका लागि पनि आधा घण्टा–एक घण्टा हिडेर पानी बोकेर खानुपर्ने बाध्यता छ ।

वडा नम्बर ४ को बान्द्रेगडा, हार्टखोली, फूलबस्ती, बुढीतोलालगायतका बस्तीमा बासिन्दा वर्षौदेखि खानेपानीको पहुँच भन्दा टाढा छन् । गोरु र मानिसले खाने पानी एउटै छ भन्दा पनि फरक पर्दैन । नहर र खोलाकै पानीको भरमा दैनिकी चलाइरहेका छन् स्थानीय । खानेपानीको सुविधा नहुँदा आधा घण्टा हिँडेर नहरबाटा पानी ल्याउनुपर्ने बाध्यता रहेको बान्द्रेगडाकी नन्दा बोहराले बताइन् । ‘खानीपानी आयोजना बन्छ भनेको पनि धेरै भइसक्यो,’ उनले भने भनिन्, ‘खै कहिलेसम्म बन्छ र खानेपानी खान पाइन्छ ?’

यस्तै दुखेसो पोखिन् हार्टखोलीकी दिपा साउँदले पनि । ‘गाइगोरुले खाने मानिसले खाने पानीमा केही फरक छैन,’ उनले भनिन्, ‘गारुले पनि नहरबाटै खान्छ हामीले पनि सोही नहरमै बगेको पानी खानुपर्छ ।’ उनले बस्तीमै खानेपानी समस्या रहेको गुनासो गरिन् ।

यहाँका यी बस्तीहरुमा खानेपानीका धारा पनि बनाइएका छन् तर पानी आउँदैन । हार्टखोली, बन्द्रागढाका बस्तीमा खानेपानीका धारामा पाइप जोडिएका छैनन् । टुटीसमेत नभएका धारामा कहिलेकाँही पानी आउँछ । ती धारामा कहिलेकाँही आउने पानी पनि सिचाईका लागि बनाइएका नहरमै बग्ने पानी रहेको बान्द्रेगडाका देवबहादुर नेपालीले बताए ।

पर्यटकी क्षेत्रसमेत रहेको हार्टखोलीमा पानी अभाव हुँदा त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरुले पनि पानी पाउँदैनन् । नुहाउन तथा पिकनिकका लागि रोजाईंस्थल बनेको त्यहाँस्थित कालीखोला (खुटिया नदी) मा पुग्ने पर्यटकले पनि पानीको समस्या भोग्ने गर्छन् । यहाँ चैत महिनादेखि असोजसम्म गर्मी छल्न आन्तरिक पर्यटकहरू आउने गरेको हार्टखोलीमा होटल व्यवसाय गरिरहेका डम्बरबहादुर बोहराले बताए । यहाँ पानीको व्यवस्था भएको भए हार्टखोलीमा पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे । मानिस तथा पशुहरूले नुहाएको खोलाकै पानीको प्रयोग गर्दा सरुवा रोगहरुको पनि सिकार हुनुपरेको उनले बताए ।

साविकको गोदावरी गाविसका पहाडी क्षेत्रका स्थानीयहरूको खानेपानीको समस्या समाधानका लागि काम भइरहेको वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले बताए । उनले पहाडी क्षेत्र भएकाले भुमिगत प्रविधिबाट खानेपानीको व्यवस्था गर्न सम्भव नरहेकोले लिफ्ट प्रविधिबाट खानेपानीको व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताए । बान्द्रेगढामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट भुमिगत प्रविधिबाट पानीको व्यवस्था गर्न कार्य अघि बढाइएको उनले बताए । सो वडामा झण्डै दुई हजार एक सय बढी घरधुरी रहेका छन ।

उनका अनुसार नगरपालिकाले अहिले बुढीतोलामा लिफ्ट खानेपानी आयोजनाको कार्य अघि बढाएको छ । बुढीतोलामा खानेपानीको व्यवस्था गर्न चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । तर, यो योजना कहिलेसम्म बन्छ भन्ने यकिन नभएको वडाध्यक्ष भण्डारीले बताए ।


६ मंसिर २०७७, शनिवार ११:४६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु