गुमनाम ऐतिहासिक ‘रानी गुफा’
संगै रहेको छडिदेउ झर्ना पनि ओझेलमा
डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ मा एक ऐतिहासिक गुफा छ, जसको नाम ‘रानी गुफा’ हो । गाउँपालिकाको केन्द्रसमेत रहेको वडामा गुफा छ भन्ने त्यहाँ केही व्यक्तिहरुबाहेक अरुलाई थाहा छैन । जसले गर्दा गुफा गुमनाम जस्तै छ ।
गुफा राउतकट्टेको राउतकोट भन्दा डेढ सय मिटर तल छ । गाउँपालिकाको कार्यालय भन्दा पूर्वतिरको डाँडामा पर्छ । दुरीका हिसावले करिब एक किलोमिटर टाढा मात्रै छ । तर गुफा ओझेलमा छ ।
स्थानीयबासीसमेत रहेको बुद्धिजिवी गगन राउत जोरायलमा १३ औं सताब्दीतिर टुडिकोटका राजा गर्जु मल्ल र राउतकोटका राजा भानु रावतबीच भएको युद्धसंग रानी गुफाको ऐतिहासिक प्रसंग जोडिएको बताउँछन् । उनकाअनुसार त्यो बेला जसले जित्यो उसले पराजित क्षेत्र आफ्नो अधिनमा लिन्थे । कुडिकोट हाल जोरायलकै वडा नम्बर ४ मा पर्छ । एक अर्को राज्यबीच हुने युद्ध हुने सिलसिलामा डुटिकोट र राउतकोटबीच युद्ध भयो । कुडिकोटको जित भयो र राउतकोटले पराजय भोगेको थियो । जसले गर्दा कुडिकोटका राजाले नै पछि राउतकोटलाई आफ्नो अधिनमा लिएर अधिपत्य जमायो ।
त्यसै युद्धबीच राउतकोटका राजा भानु रावतले आफ्नी रानीलाई लुकाउनका लागि कोट भन्दा डेढ सय मटिर तल भिरजस्तो ठाउँमा झण्डै सय मिटर सुरुङ बनाएका थिए । जुन तल छडिदेउ भन्ने खोलासम्म पुग्छ । युद्धताका रानीलाई अपहरण गर्नेलगायतका क्रियाकलाप हुने हुँदा रानीलाई बचाउन राजाले रानीका लागि सुरुङ बनाएको इतिहास छ । त्यो बेला रानाी सोही सुरुङमा बस्ने र पानी छडिदेउ खोलाको प्रयोग गर्थिन् । त्यसै कारण पनि सुरु खोलासम्म जोडेको हुनसक्ने रहेको स्थानीय गगन राउत बताउँछन् ।
उनकाअनुसार त्यतिबेला रानीले आफू बच्नका लागि बनाएको सुरुङ अहिले रानी गुफाका रुपमा चिनिएको हो । ऐतिहासिक गुफा भएपनि संरक्षण र प्रचारप्रसारको अभावमा गुफा गुमनाम जस्तै भएको राउत बताउँछन् । गुफा भन्दा ५० मिटर उत्तरतिर छडिदेउ भर्ना पनि छ । जहाँ छडिदेउ देवताको स्थल भएकाले पनि झर्नाको नाम छडिदेउ भएको र सोही नामबाट खोलाको नाम पनि छडिदेउ खोला रहेको किम्बदन्दी छ । रानी सोही सुरुङमा बस्दा सोही छडिदेउ खोला र झर्नामा नुहाउने गरेको इतिहार आफूले पुर्खाबाट सुनेको गगन राउत बताउँछन् ।
‘बाहिरकै उज्यालोको सहायतामा ४० मिटरजति भित्र म पनि गएको छु,’ उनले भने, ‘त्यसभन्दा तल अध्यारो भएकाले म जान सकेको थिएन । अहिले बिच भागमा भत्किएर जान सकिने पनि छैन ।’ उनकाअनुसार त्यहाँ केही व्यक्तिले माथिदेखि तल खोलासम्मै पनि गुफा भित्र ओहोरदोहोर गरेका छन् । तर अहिले बिच भागमा भत्किएको हुँदा तलसम्म जान सकिदैन ।
ऐतिहासिक झल्को पाइने यो ठाउँका बारेमा राज्य र निजीस्तरबाट खोज अनुसन्धान भने अझै हुन नसकेको रानी गुफा र झर्नाका बारेमा थाहा पाएका स्थानीयबासी बताउँछन् । प्रचारप्रसार हुन नसक्दा ऐतिहासिक महत्व बोकेको यो गुफा र झर्ना गुमनाम जस्तो बनेको उनीहरुको भनाई छ ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले अब ऐतिहासिक गुफाको संरक्षणका लागि काम गरिने बताए । भिरजस्तो ठाउँमा रहेको र धेरै मानिसहरु नपुगेकाले गुफा ओझेलमा परेको हुँदा अब यसको प्रचारप्रसारका लागि पनि आफू लाग्ने बताए । ‘यहाँ इतिहास बोकेको गुफा मात्रै छैन, त्यससंगै जोडिएको झर्ना पनि छ,’ उनले भने, ‘अब यी दुबैको संरक्षणका लागि डीपीआर बनाएर अगाडि बढ्छौं ।’ ऐतिहासिक क्षेत्रको संरक्षण हुनसकेमा यहाँको पर्यटन प्रबर्द्धनमा पनि टेवा पुग्ने उहाँको भनाई छ ।
२५ कात्तिक २०७७, मंगलवार ०७:४३ बजे प्रकाशित































