Hotel Flora Long Ad

चीनविरुद्ध एसियामा विभिन्न समूहहरू बनाउन क्वाडलाई अमेरिकाको आग्रह

अमेरिकाको ट्रम्प प्रशासनले क्वाडका अन्य सदस्य मुलुकहरू भारत, जापान र अस्ट्रेलियालाई एसियामा चीनका विरुद्ध स्वैच्छिक समूहहरू बनाउन जोड दिइरहेको छ ।

तर चीनले तेर्स्याएको जोखिमलाई प्रतिकार गर्नका लागि अन्य मुलुकहरू खासै अगाडि नबढ्ने अमेरिकाको परराष्ट्र मन्त्रालयले स्वीकार गरेको छ ।

मंगलवार पत्रकारहरूसँगको कुराकानीमा अमेरिकाको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकहरूले एकअर्कालाई कुटीकुटी मारेको कुरा उठाए । त्यसैले यस क्षेत्रमा समान सोच भएका मुलुकहरूको समूह बन्नुपर्ने भनी उनीहरूले व्याख्या गरे ।

‘चीन सरकारले आफ्नो वरपरका सबै क्षेत्रमा चरम आक्रामकता देखाइरहेको छ । हिन्द–प्रशान्त तथा पश्चिमी सीमाहरूमा पहिले नदेखिएका कुराहरू देख्न थालिएको छ,’ एक अधिकारीले बताए ।

अमेरिकाले क्वाडका सदस्यहरू संलग्न रहेको परिणाममुखी बहुपक्षीयता गठन गर्न चाहेको भनी अमेरिकाको परराष्ट्र मन्त्रालयका दुई अधिकारीले बताए ।

लोकतन्त्र, विधिको शासन, मानवअधिकारको रक्षा र व्यक्तिगत स्वतन्त्रता जस्ता साझा मूल्यमान्यता भएका मुलुकले स्वैच्छिक तवरले समूह बनाउनुपर्ने अधिकारीहरूको जोड छ ।

तर यी समूहहरूले अमेरिका र चीनबीचको विवादसँग साइनो नराख्ने उनीहरूले बताए ।

‘यो स्वतन्त्र विश्वविरुद्ध चिनियाँ निरंकुशतावादको कुरा हो,’ एक अधिकारीले बताए ।

पूर्वी लद्दाखमा हालै भएको भिडन्तको कारणलाई व्याख्या गर्दै उनीहरूले बेइजिङले विभिन्न लक्ष्य हासिल गर्नका लागि यस क्षेत्रप्रति देखाउने गरेको व्यवहारमा परिवर्तन ल्याएको बताए ।

अमेरिकाले समूह बनाउन भने पनि भारतले एसिया क्षेत्रमा यस्ता समूह बनाउन खासै इच्छा देखाएको छैन । भारतीय वायुुसेनाका प्रमुख आरकेएस भदौरियाले चीनसँगको सीमाविवादमा अमेरिकी सुरक्षाफौजहरूसँग कुनै समन्वय नभएको बताए ।

‘अमेरिकाले आफ्नो दृष्टिकोणका साथ तैनाथी गर्ने गरेको छ । हामी अरूको सहायता लिएर आफ्ना कामहरूको योजना बनाउँदैनौं । हामीसँग समन्वय गरेर उनीहरूले तैनाथी गरेका हैनन् । हामीले आफ्नो युद्ध आफैं लड्नुपर्छ, कसैले पनि हाम्रा लागि युद्ध लडिदिँदैन,’ भदौरियाले बताए ।

चीनले लद्दाखमा कुनै हर्कत गर्न नपाओस् भनी अमेरिकाले हिन्द महासागरमा बी–२ बमवर्षक विमानहरू राखेको भन्ने विषयमा भदौरियालाई प्रश्न सोध्दा उनले यस्तो उत्तर दिएका थिए ।

 

२१ असोज २०७७, बुधवार १४:२९ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु