सम्झनाका हत्या आरोपी राजेन्द्रले स्वीकारे अपराध
‘मन्दिरभित्रको त्रिशूलले हिर्काएर मारेँ’
बझाङकी सम्झना कामीका हत्या आरोपी राजेन्द्र बोहराले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् । उनले सम्झनाको हत्या आफूले नै गरेको बताए ।
प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकै राति उनले अपराध स्वीकार गरेको बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपक खड्काले बताए । मन्दिरभित्र रहेको त्रिशूलले हिर्काएर सम्झनाको हत्या गरेको गरेको भनेर स्वीकारेको डीएसपी खड्काले बताए । खडकाले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दा उनलाई हिनताबोध भएर हत्या स्वीकार गरेको हुनसक्ने बताए।
‘हत्या आरोपित राजेन्द्रले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकै राति हत्या गरेको स्वीकार गरेका छ्न्,’ डीएसपी खड्काले भने, ‘सम्झनाको हत्या मन्दिर भित्रको त्रिशूलले हानेर गरेको र उक्त हतियार मन्दिर छेउको रूखको जरामा लुकाइएको छ भनेर बयान दिएका छन्।’
राजेन्द्रले अपराध स्वीकार गरेपछि घटनास्थलमा खटिएको सीआईबीको टोली चैनपुर फर्किएको छ । घटनामा अन्य को संलग्नता रहेको या नहरेको बारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
गत बुधबार राति १२ वर्षीया सम्झना कामी मष्टा दुई खिकालाबासीको पूज्य मन्दिर सिम मन्दिरभित्र अर्धनग्न अवस्थामा भेटिएकी थिइन्।
हत्यारा सार्वजनिक भएसँगै सम्झनाका आफन्तले पनि शव बुझेका छन्। हत्या भएको आठ दिनपछि आफन्तले जिल्ला अस्पतालबाट शव बुझेका हुन्। मृतकका आफन्तले घटनामा सग्लनलाई हदैसम्मको कारवाहीको माग गरेका छन ।
बालिकाको बलात्कारपछि हत्यामा सग्लन आरोपी अन्य अपराधिक घटनामा पनि सग्लन भएको देखिएको छ । राजेन्द्रले साउन २९ गते घट्ट गएको बेला गाउँकै अर्की एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै सोमबार बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा बलात्कार सम्बन्धि मुद्दा दर्ता भएको छ ।
बालिकाको हत्या भएको शिब मन्दिर नजिकै डेढ वर्ष अगाडी एक बालक मृत भेटिएका थिए । स्थानीयले अहिले सो घटनामा पनि राजेन्द्रलाई नै शंकाको घेरामा राखेका छन ।
मृतक भेटिएका बालकको पनि कानमा लगाएको सुनको मुन्द्रा पनि गायब थियो । अब प्रहरीले अनसुन्धान गरी आफ्नो छोराको हत्यारा पनि कानुनी कारबाही गर्नुपर्ने मृतक बालकका बुवा शेरबहादुर कामीले बताए ।
अर्की बालिकाको पनि करणी गरेको जाहेरी प्रहरी कहाँ आएपछि गाउँ भएका अन्य घटनाहरुमा पनि राजेन्द्रको संलग्नता रहेको अनुमान गरिएको छ ।
नेपाल सरकार गृहमन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफन्तलाई १० लाख रुपैयाँ दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामबहादुर सार्कीले बताए।
१४ असोज २०७७, बुधवार १९:४० बजे प्रकाशित





























