देशभर १५५९ जना कोरोना संक्रमित थपिए, सात जनाको मृत्यु
देशभर आज १५५९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ललितपुरमा ११२, भक्तपुरमा ९३ र काठमाडौंमा ६९७ जनामा संक्रमण पुष्टि भएको बताए।
यसैगरी देशभर पछिल्लो २४ घण्टामा १ हजार ५७ संक्रमित कोरोना जितेर घर फर्किएका छन् भने निको हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ।
यसैबीच सोही समयमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । मृतकमा काठमाडौंका २ महिला र १ पुरुष रहेका छन् भने रुपन्देही, सप्तरी, मोरङ र सुनसरीका ४ पुरुष रहेका छन् ।
उनका अनुसार आज देशभर सक्रिय संक्रमित १० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ ।
१४ असोज २०७७, बुधवार १६:५१ बजे प्रकाशित































