पत्रकार पहराईको हत्या गरिएको परिवारको आरोप
कैलालीको घोडाघोडी नगरपालिकाको जंगलमा शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेकी पत्रकार निर्मला पहराईको हत्या गरिएको पीडित परिवारले आरोप लगाएको छ ।
आज पीडित परिवारले धनगढीमा पत्रकार सम्मेलन गर्दै निर्मलाको हत्या गरिएको दाबी गरेको हो । मृतक निर्मलाका दाजु विशाल पहराईले घोडाघोडी नगरपालिका वडा नम्बर ५ का ललित जाग्रीसहितका व्यक्तिले बहिनीको हत्या गरेको बताए ।
घटनाको प्रकृति हेर्दा निर्मलाको हत्या गरिएको स्पष्ट भएको भन्दै उनले ललित जाग्रीसहित त्यसमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । ‘घटनास्थल हेर्दा शवको नजिकै चप्पल, छाता, राखेको, २७ फिट टाढा टुटेको अवस्थामा घडी भेटिएको, खुट्टाको औंलामा माटो गडेको, माथिको कपडा समेटिएको र खुट्टामा रगत देखिएको छ,’ मृतकका दाई विशालले भने, ‘घाँटीमा बाँधिएको दोपट्टा पनि सुकिर्ने भन्दो पनि दुई तीनवटा गाँठो पारेर बाँधिएको अवस्थामा भेटियो । यो हत्या हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।’

परिवारकाअनुसार मृतक निर्मलाले आफ्नो दिदी र अर्को एक साथीलाई आफू ललित जाग्रीसंग अन्तरजातीय विवाह गर्दैछु भनेर जानकारी गराएकी थिइन् । साथै निर्मलाले पहलमानपुरकी एक केटीले म पनि ललितलाई माया गर्छु भनेर धम्की दिइरहेको भनेर दिदी र साथीलाई जानकारी दिएकी थिइन् ।
मृत भएको दिन पनि अन्तिम फोन सम्पर्क पनि ललितसंगै भएकाले घटनाको मुख्य दोषी उनी नै रहेको निर्मलाकाई दाई विशालले बताए । उनले यो घटनामा धम्की दिने पहलमानपुरकी केटीको पनि हात रहेको हुनसक्ने आशंका गरे ।
परिवारकाअनुसार ललित र निर्मलाबीच लामो समयदेखि लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो । निर्मला कैलालीको कैलाली एफएममा कार्यरत थिइन् । केही समय अघि सो एफएममा ललित पनि काम गरेका थिए ।
निर्मलाको शव पोर्टमार्टमका लागि धनगढी ल्याइएको छ । हत्या आरोप लागेका ललित जाग्रीलाई प्रहरीले शुक्रबारनै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
३ असोज २०७७, शनिवार १६:३२ बजे प्रकाशित































