मोहना नदीले बस्ती सखाप पार्ने चिन्ता
स्थानीय भन्छन्, ‘तटबन्ध निर्माण नेताका चुनावी नारा मात्रै भए’
दिनेश बिष्ट
धनगढी, साउन ९ । देशका विभिन्न ठाउँमा बाढी पहिरो बितण्डा मचाइरहेका बेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका अधिकांश ठाउँ पनि नदी कटान र डुबानको उच्च जोखिममा छन् ।
धनगढीको अधिकांश क्षेत्र नदीले घेरिएको हुँदा यहाँ कटान र डुबानको बढी जोखिम रहेको हो । यहाँका नदी नालामा तटबन्ध गरिनुको सट्टा उल्टै अतिक्रमण बढ्दै गइरहेको छ । धनगढीमा नदी कटानको उच्च जोखिममा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ क्षेत्र पनि छ ।
वर्षेनि डुवानमा पर्ने वडा नम्बर ३ मा हाल मोहना नदीले कटान तीब्र पार्दै गएको छ । जसले गर्दा स्थानीयमा त्रास बढेको छ । विभिन्न ठाउँमा बाढीले बस्तीनै बगाइरहेका बेला आफूहरुको हविगत पनि त्यस्तै पो हुने हो कि भन्ने चिन्ता स्थानीयमा छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ राजघाट क्षेत्रमा करिब तीन वर्षको अवधीमा मात्रै मोहना नदीले १० बिघा बराबर जमिन काटेको स्थानीय चन्द्र चौधरीले बताए । बि
गतमा पश्चिमतिरबाट बग्ने मोहना नदी अहिले पुरै पूर्वतिर भएर बगिरहेको हुँदा कटान र डुबान बढेको उनी बताउँछन् । वर्षेनि नदीले कटान गर्दा वडा नम्बर ३ को बस्तीमै बाढी पस्ने चिन्ता स्थानीयमा रहेको उनको भनाई छ । नदीले वर्षेनि कटान गर्ने तर, तटबन्धका लागि नेताहरुबाट आश्वासन मात्रै पाउँदै आएका नागरिक यो बेला भने निकै आक्रोसमा छन् ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उनकै पत्नी आरजु राणा देउवा तथा बर्तमान संघीय सांसद नारदमुनि रानाकोसमेत चुनावी नारा बनेको तटबन्द कार्यक्रम नारामै सीमित रहेको स्थानीयको आरोप छ । नदीले जमिन काट्दै जाने तर नेताहरु दोश्रो पटक फर्केर गाउँबस्तीमा नआउने हुँदा अब तटबन्ध बन्ने आशा पनि मरेको धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का दुर्गाप्रसाद ओझाले बताए ।
नदीले कटान गर्दै गएपछि जंगल मासिनुका साथै नदी छेउमा भएको ठूलो मैदान पनि बाँकी नरहेको उनले बताए । स्वार्थ पुरा गर्न मात्रै आउने नेताका कारण जनताहरु पटक/पटक ठगिएको ओझाको भनाई छ । स्थानीय सरकारले भने तटबन्दको काम संघीय तथा प्रदेश सरकारको भन्दै खासै वास्ता गरेको छैन ।
स्थानीय तहको जिम्मा तटबन्द नभएकाले यसको जिम्मेवारी प्रदेश तथा संघीय सरकारलाई हुने धनगढी उप महानगरपालिकाले जनाएको छ । तटबन्दका लागि प्रदेश तथा संघीय सरकार मातहतका कार्यालयमा पहलका साथै रेडक्रससंगपनि समन्वय गरिरहेको उप–महानगरपालिकाका मेयर नृपबहादूर वडको दाबी छ । नदी कटान तीब्र भइरहेका बेला जनप्रतिनिधीसमेत संबेदनशिल नभए भविष्यमा अप्रिय घटना सक्ने स्थानीयको भनाई छ ।
९ साउन २०७७, शुक्रवार ०२:५१ बजे प्रकाशित































