सुदूरपश्चिममा थप ३५ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित थपिए ?
धनगढी, साउन ८ । सुदूरपश्चिमका आज थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा र डडेल्धुरा प्रयोगशालामा भएको कोरोना परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका २६ जना र डडेल्धुरा प्रयोगशालामा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालाको परीक्षणमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष र तीन महिला गरी १३ जना, बेल्डाँडी गाउँपालिकाका ८ पुरुष र बेलौरी नगरपालिकाका तीन पुरुष र दुई पुरुष गरी पाँच जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनले पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा दुई सय ५८ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए।
डडेल्धुरामा गरीएको परीक्षणमा डोटीका सात र डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
आज ३५ जनामा संक्रमण पुष्टि भएपछि सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ७७ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार दुई सय ३३ जना डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका ९ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अछाममा ६ सय ४५, डोटीका ६ सय ४४, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कञ्चनपुरका पाँच सय १३, डडेल्धुराका दुई सय ९९, बैतडीका दुई सय ७६, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो।
८ साउन २०७७, बिहीवार १२:१४ बजे प्रकाशित































