Alok

चिनीको मूल्य बढाउन चलखेल, यतिसम्म गर्छन् उद्योगी व्यापारी

काठमाडौं, असार २२ । काठमाडौंको ज्ञानेश्वर निवासी राजेन्द्र चन्दले गत जेठ अन्तिम साता चिनी प्रतिकिलो ७८ रुपैयाँमा किने । गत शुक्रबार फेरि किन्दा प्रतिकिलो ८५ रुपैयाँ तिर्न बाध्य भए । ‘तीन सातामै प्रतिकिलो ७ रुपैयाँ बढेको रहेछ,’ उनले भने, ‘कोरोना र लकडाउनका नाममा चिनीमा लुट मच्चिएछ ।’

चन्द प्रतिनिधि पात्र मात्रै हुन् । गत बुधबारदेखि होलसेलमा मूल्य बढेपछि ठाउँअनुसार खुद्रा मूल्य फरकफरक देखिएको छ । उद्योगीरआयातकर्ता र होलसेल व्यवसायीले मूल्य बढाएको खुद्रा व्यापार संघको दाबी छ । मौज्दात कम भएको भन्दै बुधबारदेखि होलसेल मूल्य प्रतिकिलो ८०र८१ रुपैयाँसम्म पुर्‍याएको संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

‘उद्योगीहरूले चिनीको मौज्दात कम भन्छन् । त्यसको बहानामा बुधबारदेखि खरिद मूल्य नै प्रतिकिलो ८०र८१ परेको छ,’ उनले भने, ‘यसअघि ७७ रुपैयाँमा खरिद हुँदा ठाउँअनुसार ७८ देखि ८५ रुपैयाँमा बिक्री हुन्थ्यो । खरिद नै ८१ रुपैयाँ हुँदा बजारभाउ ९० रुपैयाँसम्म पुग्ने देखियो ।’ हाल खुद्रा व्यापारीसँग पुरानै मौज्दात छ । त्यो करिब ८५ रुपैयाँसम्ममा बिक्री गरिरहेको उनले बताए । ‘होलसेलमा बुझ्दा उद्योगीलाई देखाउँछन्,’ उनले भने, ‘पुरानो सकिएपछि खुद्रा मूल्य करिब ९० रुपैयाँसम्म पुग्छ ।’

होलसेल व्यवसायी सञ्जय फुयालले पनि उद्योगीले नै मूल्य बढाएको दाबी गरे । ‘नेपालको उत्पादन सकियो भन्दै चिनी उद्योगीले मूल्य बढाए । भारतबाट सस्तो मूल्यमा आयात गरिएको चिनीलाई पनि यहाँ महँगोमा बेचिएको छ,’ उनले भने । बजारभाउ महँगो हुँदा साल्ट ट्रेडिङ कर्पोरेसनले सस्तो मूल्यमा चिनी बिक्री गर्दै आएको छ ।

साल्टको चिनीको मूल्य प्रतिकिलो ७३ रुपैयाँ छ । उक्त चिनी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भएको साल्टको दाबी छ । तर चिनी मौज्दात नरहेको सहायक महाप्रबन्धक कुमारराज राजभण्डारीले बताए । ‘हामीलाई मासिक करिब २५ हजार टन चाहिन्छ । तर करिब १ हजार टन मात्रै मौज्दात छ,’ उनले भने । आपूर्तिको अवस्थाबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जानकारी गराएका छौं ।’ जानकारका अनुसार दसैं, तिहार र छठका लागि दुई महिना थप १० हजार टन चाहिन्छ । नयाँ क्रसिङ हुन अझै ६ महिना लाग्छ ।

उद्योगीहरूसँग भएको मौज्दात साउनसम्मलाई मात्रै पुग्ने चिनी उत्पादक संघका अध्यक्ष शशिकुमार अग्रवालले बताए । ‘मौज्दातको सन्दर्भमा असार १ मै पत्राचार गरेका थियौं । भदौबाट समस्या हुन सक्छ,’ उनले भने, ‘थप ४० हजार टन आयात गर्न अनुरोध गरेका छौं ।’ चाडबाडमा अभाव हुन नदिन केही परिमाणमा आयात गर्नुपर्ने उनको भनाइ छ ।

बजार हस्तक्षेप गर्न भन्सार छुटमा चिनी आयात गर्न खोज्दा बाधक बन्दै आएका उद्योगीहरूले यसपटक आयात गर्न मन्त्रालयमा पत्राचार गरेका थिए । बजार विश्लेषण गरेर भन्सार छुटमा ५० हजार टन आयातका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् । ‘डेढ महिनाअघि नै अर्थमा प्रस्ताव पठाएका थियौं । तर त्यताबाट सहमति आइसकेको छैन,’ उनले भनिन्, ‘अर्थले सहमति दिएपछि मन्त्रिपरिषद्मा पेस गर्छौं ।’

चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ६१ करोड रुपैयाँबराबरको ३३ हजार टन चिनी आयात भएको भन्सार विभागको तथ्यांक छ । एक महिनाअघि उद्योगीले करिब ३६ हजार टन मौज्दात रहेको जानकारी गराएको केसीको भनाइ छ । त्यसैले मौज्दात परिमाण उद्योगीहरूले लुकाएको हुन सक्ने उनले बताइन् । ‘खुद्रा बजारमा प्रतिकिलो ८९ रुपैयाँसम्म पुगेको खबर पाएका छौं,’ उनले भनिन् ।

बजार अनुगमन तथा नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चिनीको मूल्य विश्लेषण गरिरहेको जनाएको छ । ‘बजार मूल्य अध्ययन गर्न ४ ठाउँबाट नमुना संकलन गरेका छौं,’ विभागका प्रवक्ता रवीन्द्र आचार्यले भने, ‘विश्लेषण गर्ने क्रममै छौं । दुई–चार दिनसम्म केही आउँछ ।’ चिनीसँगै कुखुराको मासुको मूल्य पनि विश्लेषण गरिरहेको उनले बताए ।

‘चिनी बेचेर चना–केराउको बिल’

उद्योग एवं होलसेल व्यवसायीले चिनी बेचेर केराउको बिल दिने गरेको खुद्रा व्यापार संघले बताएको छ । ‘भ्याटरपैसा बचाउन बिल बीजक पनि सही दिँदैनन् । होलसेलमा चिनीलाई चनारकेराउका नाममा बिल दिन्छन्,’ संघका अध्यक्ष श्रेष्ठले भने, ‘होलसेलले पनि त्यसरी नै आयात गर्छन् । यो विगतदेखिकै खेल हो ।’ बजारमा अप्ठ्यारो अवस्था हुँदा होलसेलले दरभाउ तलमाथि पार्दै आएका छन् ।

चिनीको मूल्य ८१ रुपैयाँ लिए पनि बिलमा भने ५२ देखि ६३ रुपैयाँ लेख्ने गरेको अध्यक्ष श्रेष्ठको आरोप छ । ‘बिल पनि चिटमा दिन खोज्छन् । महँगो मूल्य लिएर सस्तोको बिल दिन्छन्,’ उनले भने, ‘सही परिमाणको बिल माग्दा सामान नै नपाइने अवस्था छ ।’ यता, होलसेल व्यवसायी फुयालले भने खुद्रा व्यापारीले बिल लिन नमानेको दाबी गरे । ‘हामीले फ्याक्ट्रीबाट बिल लिन्छौं । बिल पनि दिन खोज्छौं । तर खुद्राले लिन मान्दैनन्,’ उनले भने, ‘कुनै कुनैमा न्यून बीजकीकरण भएको होला । तर सबैतिर त्यस्तो छैन ।’ कान्तिपुर दैनिक


२२ असार २०७७, सोमवार ०२:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु